भरतपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) पार्टीको संगठन विस्तार गर्ने क्रममा आइतबार भरतपुर आइपुगेका छन् । संगठन विस्तार गर्ने क्रममा भरतपुर आइपुगेका राईले नारायणी नदी किनारमा आयोजित जनसभालाई सम्बोधन गरेका थिए ।
जनसभालाई सम्बोधन गर्दै राईले बाटो निर्माणलाई मात्रै विकास भन्न नमिल्ने बताए । भरतपुरको छ लेन बाटोलाई इंगित गर्दै उनले बाटो भन्दा नदी तटबन्धको कामलाई प्राथमिकता दिनुपर्ने बताए । गाजीपुरमा नारायणी नदीको तटबन्ध फुट्न लागेको भनि स्थानीयले गुनासो गरेको भन्दै उनले धेरै जनाको घर डुबानमा पर्ने जोखिम रहेको बताए ।
जनताको साइकल किन्ने पनि हैसियत नरहेको बताउँदै उनले भने, ‘गाजिपुरमा नारायणीको तटबन्धन फुट्न लागेको रहेछ । छ लेनको बाटो भन्दा तटबन्ध प्राथमिकतामा राख्नुपर्छ । बाटो मात्र विकास होइन । त्यहाँ धेरै जनताको घर डुबानमा पर्ने जोखिम देखेँ ।’ आगामी निर्वाचनमा श्रम संस्कृति पार्टीलाई बहुमत दिन पनि उनले आग्रह गरे ।
चितवनका जनताहरु मासुभातमा बिक्ने खालको नरहेको भन्दै उनले आफ्नो पार्टीले बहुमत पाएमा पाँच वर्षभित्र देशलाई कायापलट बनाउने दाबी गरे । सत्तामा पुगेको पाँच वर्षभित्र काम गर्न नसके आफु देश छाडेर भाग्ने पनि उनले बताए । ‘५ वर्षभित्र देशलाई कायापलट गरेनौं भने देश छाडेर हिँड्छु । श्रम संस्कृतिलाई बहुमत दिएर काम गर्न सकेनौं भने देशमा बस्दिन’, उनले भने ।
श्रम संस्कृति पार्टी एउटा अभियान रहेको बताउँदै उनले आफ्नो पार्टीमा कार्यकर्ता नरहने स्पष्ट पारे । पार्टीमा श्रमदाता मात्रै हुने भन्दै उनले युवाहरुलाई श्रमसँग जोड्न श्रम संस्कृति पार्टी स्थापना भएको बताए ।










