चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शिक्षा उपसमितिको संयोजनमा पूर्वी चितवनका माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच “समाज रूपान्तरणमा सहकारीको भूमिका” विषयक निबन्ध लेखन प्रतियोगिता टाँडी सेवा केन्द्रको परिसरमा सम्पन्न भएको छ । प्रतियोगितामा सो क्षेत्रका १५ वटा विद्यालयका २८ जना विद्यार्थीहरूको सहभागितामा रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले सहकारीलाई सामाजिक रूपान्तरणको मूल शक्तिका रूपमा प्रस्तुत गर्दै सहकारी केवल आर्थिक संगठन मात्र नभई सामुदायिक चासो, पारदर्शिता र सहकार्यको मूल्य बोकेको संस्थागत संरचना भएकाले विद्यार्थीहरूमा सहकारी संस्कार विकसित गराउन संस्था निरन्तर जुटिरहने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता गरेका शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीले निबन्धजस्तो अभिव्यक्तिमूलक विधाले विद्यार्थीहरूलाई सोच्न, विश्लेषण गर्न र आफ्ना धारणालाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सक्षम बनाउने भएकाले सहकारी विषयमा लेखन प्रतियोगिताले गहिरो प्रभाव पार्ने बताए। उनले विद्यालय स्तरमै सहकारी शिक्षाको विस्तार आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा विशेष धारणा प्रस्तुत गर्दै संचालक समिति सदस्य प्राडा होमनाथ सापकोटाले निबन्ध विधा अरु साहित्यिक विधाभन्दा फरक रूपमा विश्लेषणात्मक र तर्कयुक्त अभिव्यक्ति माग्ने भएकाले विद्यार्थीहरूको वास्तविक दृष्टिकोण र समाज बुझ्ने क्षमताको परीक्षण यसमार्फत सम्भव हुने बताए।
त्यसैगरी, टाँडी सेवा केन्द्र व्यवस्थापन उपसमिति संयोजक सन्देश पाठकले निबन्धले तथ्य, तर्क र विचारलाई एकैसाथ जोड्ने भएकाले युवाहरूलाई सामाजिक विषयहरूबारे गम्भीर रूपमा सोच्न प्रेरित गर्ने उल्लेख गर्दै सहकारी र समाजबीचको सम्बन्ध बुझ्न यस किसिमका कार्यक्रमले ठूलो महत्त्व राख्ने बताए।
संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले सहकारी संस्थाले निरन्तर रूपमा समुदाय केन्द्रित कार्यक्रम र विद्यार्थीमैत्री गतिविधिहरू अघि बढाइरहेको उल्लेख गर्दै सहकारीलाई भविष्यमा जिम्मेवारीपूर्वक अगाडि बढाउने पुस्ता तयार पार्न यस्ता कार्यक्रम अपरिहार्य हुने बताए।

कार्यक्रमको सञ्चालन शिक्षा उपसमितिका सदस्य नेत्रबन्धु पोखरेलले गरेका थिए भने शिक्षा उपसमितिका सदस्य बिदुर केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न उपसमिति सदस्य तथा टाँडी सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्यहरूको उपस्थिति थियो ।
निबन्धको मूल्यांकन प्रा।डा। होमनाथ सापकोटा र नेत्रबन्धु पोखरेलले संयुक्त रूपमा गरेका थिए । सहभागी विद्यार्थी मध्ये कृशा बुर्लाकोटी (खैरहनी माध्यमिक विद्यालयं) प्रथम, आशिक मनसुन (बुद्धज्योती आवासीय माध्यमिक विद्यालय) द्वितीय, दिप्सना अधिकारी (पञ्चकन्या विद्या मन्दिर) तृतीय तथा गुमशाङ्ग लामा (प्यारागन माध्यमिक विद्यालय) प्रोत्साहन पुरस्कारका लागि छनोट भएका छन्।
विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र मंसिर २५ गते संस्थाको २२औं वार्षिक साधारण सभाको विशेष समारोहमा वितरण गरिने र पुरस्कारको राशी प्रथम, द्वितीय, तृतीय र प्रोत्साहनको लागि क्रमशः तीन हजार, दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय रहेको जानकारी संस्थाले जानकारी गराएको छ ।











