चितवन । चितवनमा उत्कृष्ट करदाताको रुपमा एक निर्माण कम्पनीलाई सम्मान गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय भरतपुरले राष्ट्रिय कर दिवसको अवसरमा आज उत्कृष्ट करदाताको रुपमा सोङ दा कालिका जेभीलाई सम्मान गरेको हो । यस निर्माण कम्पनीले आर्थिक वर्ष २०८०÷८१ मा सबैभन्दा बढी दुई करोड ४९ लाख १४ हजार १९९ रुपैयाँ आयकर तिरेको थियो ।
आव ०८०÷८१ मा सबैभन्दा धेरै आयकर तिरेकाले उक्त कम्पनीलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय भरतपुरका सूचना अधिकारी रामकुमार अधिकारीले जानकारी दिए । कार्यालयले उत्कृष्ट कर्मचारीको रुपमा कार्यालय सहयोगी बैकुण्ठ बहादुर खत्रीलाई नगदसहित सम्मान गरेको छ ।
कर दिवसको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत विश्वास श्रेष्ठले जानकारी दिए । उनका अनुसार आजै हार्डवेयर व्यवसायीहरुलाई करदाता शिक्षा प्रदान गरिएको छ ।
कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चौमासिक (कात्तिक मसान्तसम्म) सात अर्ब ४० करोड ७० लाख पाँच हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।










