चितवन । चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा भोलिदेखि सुरु हुने प्रथम खेलकुद तथा वृहत व्यापारिक महोत्सवको पूर्व सन्ध्यामा आज म्याराथन सम्पन्न भएको छ ।
समितिले महोत्सव प्रवर्द्धनका लागि आज म्याराथन आयोजना गरेको हो ।
भरतपुरको गोन्द्राङदेखि महोत्सव स्थल नारायणी नदी किनारसम्म ६.५ किलो मिटर दौडमा पुरुष र महिला गरी एक सय भन्दा बढी खेलाडीहरु सहभागी थिए । जसमा पुरुषतर्फ कपिलबस्तुका अजय पाण्डे क्षेत्री प्रथम भएका छन् । उनले उक्त दुरी २० मिनेट १० सेकेन्डमा पुरा गरे ।
यस्तै चितवनको कालिकाका सुनिल विक दोस्रो भएका छन् । दोस्रो भएका सुनिलले उक्त दुरी २१ मिनेट १२ सेकेन्डमा पुरा गरेका छन् । २१ मिनेट ३० सेकेन्डमा उक्त दुरी पार गरेका आँबुखैरेनीका सनम गुरुङ तेस्रो तथा २२ मिनेटमा पुरा गरेका मकवानपुरको बकैया ५ का जेमन तामाङ चौथो भएका छन् ।
उता महिलातर्फ भरतपुर १४ शिवनगरकी प्रतिमा हड्खले प्रथम भईन् । ६.५ किलोमिटर दुरी उनले ३१ मिनेटमा ५२ सेकेन्डमा पुरा गरिन् । दोस्रो भएकी माडीको सोमेश्वरकी सोनम बोटेले उक्त दुरी ३२ मिनेट ५५ सेकेन्डमा पुरा गरिन् । यस्तै तेस्रो भएकी खैरहनी १३ की आयुष्मा महतोले उक्त दुरी ३७ मिनेट २७ सेकेन्ड तथा चौथो भएकी माडीको सोमेश्वरकी रोशनी महतोले ३८ मिनेट १ सेकेन्डमा पुरा गरिन् ।
उनीहरुले क्रमश: पाँच, तीन र दुई-दुई हजार रुपैयाँ प्राप्त गरे । उनीहरुलाई भोलि हुने महोत्सवको उद्घाटन समारोहकै क्रममा पुरस्कृत गरिने आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए । नारायणी नदी किनारमा भोलिदेखि मंसिर २ गतेसम्म महोत्सव आयोजना हुँदैछ । त्यसैको पूर्व सन्ध्यामा आज म्याराथन आयोजना गरिएको उनले बताए ।
महोत्सवको भोलि भव्य उद्घाटन गरिने कार्कीले बताए । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनियाले महोत्सव उद्घाटन गर्नेछन् । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संयोजक विकल कार्कीले बताए । उनका अनुसार आज बेलुकासम्म तयारी पुरा हुनेछ । खेलकुद र व्यापारलाई जोडेर चितवनमा नै पहिलो पटक यस किसिमको महोत्सव आयोजना गरिएको हो ।











