चितवन । चितवनमा १५१औँ विश्व हुलाक दिवसको अवसरमा निजामती कर्मचारी र सञ्चारकर्मीबीच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
भरतपुरको कबर्ड हलमा भएको प्रतियोगितामा इन्जिनियर विजय दरै र भिमदत्त भट्टको टिम प्रथम भएको छ । दरै नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)मा कार्यरत छन् भने भट्ट मत्स्य विकास केन्द्र भण्डारामा कार्यरत छन् ।
त्यस्तै, कृष्ण पौडेल र जगत लामाको टिम दोस्रो भएको छ । पौडेल मातपोत कार्यालय भरतपुर र लामा सडक डिभिजन भरतपुरमा कार्यरत छन् । प्रथम र दोस्रो हुने टिमलाई भोलि (बिहीबार) विश्व हुलाक दिवसको मुल समारोहमा मेडल र प्रमाणपत्र वितरण गरिने जिल्ला हुलाक कार्यालय चितवनका हुलाक अधिकृत नरहरि सापकोटाले जानकारी दिए । प्रतियोगितामा सञ्चारकर्मीका दुई र कर्मचारीका पाँच वटा टिम सहभागी थियो ।
विश्व हुलाक दिवसको अवसरमा असोज २१ गतेदेखि विभिन्न कार्यक्रम भइरहेको जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी पदम श्रेष्ठले जानकारी दिए । बिहीबार दिवसको मुल समारोहमा शुभकामना मन्तव्यसहित अन्तरक्रिया र सम्मान एवम् पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको उनले बताए । उनका अनुसार भोलि नै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बालबालिका वार्डमा रहेका विरामीलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको छ ।
चितवनमा हुलाकको छ वटा पालिका कार्यालय, तीन वटा हुलाक काउन्ट र १२ वटा अतिरिक्त हुलाक कार्यालय रहेका छन् । विश्व हुलाक संघको स्थापना सन् १८७४ अक्टोवर ९ मा भएको हो । नेपालले भने उक्त संघको सदस्यता सन् १९५६ मा लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।











