भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको बताएका छन् ।
नारायणी माविको हिरक महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले यो कार्यकालमा भाषण भन्दा काम धेरै गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा करिब आठ मिनेट मात्रै बोलेका प्रचण्डले बाँकी जीवन सुसासन र विकासमा समर्पित गरेको बताए ।
यो कार्यकालमा आफु धेरै भाषण गर्ने पक्षमा नरहेको भन्दै उनले भने, ‘म भाषण कम, काम धेरै गर्ने । जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा मैले गरेको छु ।’ देश विशिष्ट परिस्थितीबाट अघि बढेको भन्दै उनले हरेक दिन देश र जनताको पक्षमा काम गर्ने बताए ।
‘हामी एउटा विशिष्ट परिस्थितीबाट अघि बढ्दै छौँ । मैले यो पटक हरेक दिन देश र जनताको पक्षमा, शुसासन र विकासको पक्षमा काम गर्दै जाने, नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु’, उनले भने ।
प्रधानमन्त्री भएपछि पहिलो क्याबिनेट बैठकबाट अर्थतन्त्र सुधार र सुशासन कायम गर्ने निर्णय गरेको उनले बताए । ‘जनताले विभिन्न क्षेत्रमा पाइरहेको सास्तीबाट मुक्त हुने कुरालाई इंकित गरेर निर्णय गरेको छु । जनतालाई पिर मर्का पार्ने कुनै पनि निर्णयमाथि मैले कठोर कदम चलाएर जनता र राष्ट्रको नै पक्षमा जाने संकल्प लिएको छु’, उनले भने ।
त्यस्तै उनले नारायणी माविको गुणस्तर वृद्धिका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । समाजको सभ्यता र संस्कृतिको आधारशिला भनेको शिक्षा नै भएको भन्दै उनले विकासलाई दिगो रुपमा अगाडि बढाउन गुणस्तरीय शिक्षा आवश्यक पर्ने बताए । आफ्नो जन्म जिल्लाको विद्यालय प्रथम र कर्म जिल्लाको मावि दोस्रो भएकोमा उनले खुसी व्यक्त गरे ।
नारायणी माविमा उनले हिरक द्धार, स्वर्ण र हिरक स्तम्भको उद्घाटन गरे । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी पहिलो पटक गृहजिल्ला चितवन आएका हुन् । उनी उपत्यका बाहिर पहिलो पटक औपचारीक कार्यक्रममा सहभागी भएका हुन् ।











