चितवन । तमू ल्होसार–२०७९ मा कलाकारहरूले धूलो उडाएका छन् । भरतपुरको महाबौद्ध गुम्बा परिसरमा सदाका वर्षजस्तै तमू ह्युल छोँज धीँले आयोजना गरेको ल्होसार विशेष कार्यक्रममा यसपटक राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूले धुलो उडाएका हुन् । कलाकारहरूले मञ्चमा प्रस्तुति दिँदै गर्दा दर्शकदीर्घाबाट चर्को हुटिङसहित नाचेका थिए ।
पुसको चिसोलाई पनि कुनै प्रवाह नगरी दर्शकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरू शितल गुरूङ, तिलक गुरूङ, चिजा तामाङ, सविन गुरूङ, निर्जला गुरूङ, सूचना गुरूङलगायतका कलाकारहरूले गीत गाए । एउटै मञ्चमा गुरूङ भाषाको गीतदेखि सालैजो, कौडा हुँदै दोहोरी भाकासम्म गुञ्जिए ।
तमू विद्यार्थी छोँज धीँको संयोजकत्वमा भएको सांस्कृतिक कार्यक्रम धेरै वर्षपछिको विशेष थियो । यसअघिका वर्षहरूमा विद्यार्थी र केही आमा समूहको नृत्यमार्फत मनोरञ्जन दिलाउने प्रयास गरिँदै आइएकोमा यसपटक राष्ट्रियस्तरकै कलाकारहरूलाई बोलाएर कार्यक्रमलाई थप बलियो बनाउने प्रयत्न गरिएको कार्यक्रम संयोजक एवम् तमू विद्यार्थी छोँज धीँ चितवनका अध्यक्ष सुमित गुरूङले बताए । आगामी वर्षहरूमा हुने कार्यक्रमलाई पनि थप संगीतमय बनाउँदै लैजाने योजना रहेको उनको भनाइ छ ।














