चितवन । माडी नगरपालिकाको मुख्य सडक स्तरोन्नतीको काम लामो समयदेखि अलपत्र परेपछि स्थानीयहरु आजित भएका छन् । सडकको धुलोले स्थानीय जनता रोगी भएका छन् भने सास्ती उस्तै पाएका छन् । सडक र पुल निर्माणको कामलाई अलपत्र पारेपछि माडीका युवाले ‘ठेकेदार हराएको सूचना’ टाँस्ने काम सुरु गरेका छन् ।
माडीको ७.७ किलोमिटर सडक स्तरोन्नत्ति गर्न २०७६ सालको पुसमा सम्झौता भएको थियो । ३३ करोड रूपैयाँ खर्च हुने सो काम गएको वैशाखमा सकिनु पर्ने सम्झौतामा उल्लेख छ । तर हालसम्म सडकको १० प्रतिशतका हाराहारीमा मात्रै काम भएको हुलाकी सडक आयोजना वीरगन्ज कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले बताए । निकुञ्ज आडबाट सडक गएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनका कामलगायतले गर्दा समयमा काम सक्न गाह्रो भएको निर्माण कम्पनी बज्रगुरू ढुकुचुका आधिकारिक प्रतिनिधि तुलसी घिमिरेले बताए ।

लगभग एक वर्षयता काम ठप्प भएपछि आफूहरू दबाबमूलक अभियानमा लागेको समृद्धिका लागि युवा अभियान माडीका अभियन्ता विपिन पाठकले बताए । तत्कल काम सुरू नभए थप कार्यक्रम चलाउने सोही अभियानमा आबद्ध रामचन्द्र लम्सालले बताए ।
माडी१ का पूर्व वडाध्यक्ष कृष्णप्रसाद पौडेलले निर्माणमा भएको ढिला सुस्तीले माडीको आर्थिक गतिविधिमा असर परेको बताए । माडीका खोलाहरूमा बन्दै गरेको पुलको काममा पनि ढिलासुस्ती भएको माडीका युवा हरि रानाभाटले बताए । अभियानमा आबद्ध रामबन्धु पोखरेलले निर्माण व्यवसायीले समयमा काम गरे माडीवासीले धन्यवाद भन्ने बताए ।













