चितवन । जापानीज इन्सेप्लाइटिसको संक्रमणबाट चितवनमा एकै महिनामा तीन जनाको मृत्यु भएको छ ।
नौ जना विरामीमा संक्रमण पुष्टि भएकामा तीन जनाको मृत्यु भएको हो । विरामीको मृत्यु भइसकेपछि मात्रै संक्रमण पुष्टि भएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख एवम् जनस्वास्थ्य प्रशासक दिनेश रुपाखेतीका अनुसार राप्ती नगरपालिका–१२ की ७० वर्षीय महिला, कालिका नगरपालिका–५ का ८९ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१२ का ८१ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको हो ।
विरामीको नमुना परीक्षणका लागि काठमाडौँ पठाउनुपर्ने बाध्यताले विरामीको मृत्यु भइसकेपछि मात्रै संक्रमण पुष्टि हुने गरेको उनले बताए । राप्तीका संक्रमितको मृत्यु एक हप्ता अगाडि नै भएपनि रिपोर्ट भने हिजो (सोमबार) मात्रै प्राप्त भएको उनले जानकारी दिए ।
संक्रमित सुंगुरलाई टोकेको लामखुट्टेले मान्छेलाई टोेकेमा जापानीज इन्सेप्लाइटिसको संक्रमण हुने जोखिम रहन्छ ।











