काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएको छ ।
पार्टीका प्रवक्ता दामोदर पण्डितले संस्थापक चौधरीसँग डिल्लीबजारमा भएको छलफलपछि सरकारमा नजाने तर समर्थन गर्ने निर्णय भएको जानकारी दिए।
आज रेशमले सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई कारागारमै बोलाएका थिए। आइतबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको सात दलीय छलफलमा रेशम संस्थापक रहेको उन्मुक्ति पार्टी पनि सहभागी थियो।
रेशम चौधरी लगायतका बन्दीको रिहाइ, झुठा मुद्दा खारेज तथा टीकापुर घटनापछि गिरिशचन्द्रलाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पार्टीको माग छ।
नयाँ समीकरणको सरकारसँग पनि यिनै मागलाई उन्मुक्ति पार्टीले अघि सार्ने जनाएको छ। यो पार्टीले प्रतिनिधिसभामा ४ सिट जितेको छ। सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकसहित ७ सांसद र लुम्बिनी प्रदेशमा चार जना सांसदको प्रतिनिधित्व छ।











