चितवन । सडक डिभिजन भरतपुरले आज पनि भरतपुरका अवैध संरचनामा डोजर चलाउँदै छ । शनिबार नारायणगढका अवैध संरचना भत्काएर सकेको सडक डिभिजनले आज लायन्सचोक देखि हाकिमचोक सम्मका अवैध संरचना भत्काउने भएको हो ।
सडक अधिकार क्षेत्रमा परेका घरटहरा आज पनि भत्काइने सडक डिभिजनका इन्जिनियर सागर कार्कीले जानकारी दिएका हुन् ।
यतिबेला पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने पुलचोक–गोन्द्राङ सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने काम भइरहेको छ । भरतपुर महानगरपालिकाभित्र पर्ने यस सडक खण्ड विस्तारपछि यातायात सञ्चालन र बजार व्यवस्थापन सहज हुने विश्वास गरिएको छ ।
रागमार्गको केन्द्रबाट दायाँ बायाँ ३१/३१ मिटरसम्मलाई सडक अधिकार क्षेत्र मानिने सडक ऐन २०३१ मा उल्लेख छ । सडक ऐन अनुसार सडक अधिकार क्षेत्रभित्रका घरहरु भत्काइएको सडक डिभिजनले बताउँदै आएको छ ।













