काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आगामी सरकारको नेतृत्व गर्न नदिने भएका छन् । सत्ता गठबन्धनको बैठकमा प्रचण्डले प्रधानमन्त्रीको पहिलो कार्यकालमा आफ्नो दाबी गरेका थिए ।
सरकार पाँच दलीय गठबन्धनकै नेतृत्वमा बन्दा आफूले स्वभाविक रूपमा प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । देउवाले भने पहिलो कार्यकाल प्रधानमन्त्री दिन आफ्नो पार्टी पूर्ण रूपमा तयार नभएको बताए।
‘मैले मात्रै भनेर भएन नी। साथीहरूको कुरा पनि सुन्नुपर्यो। अहिले नै तपाईंलाई प्रधानमन्त्री दिन साथीहरूले मानेनन्। मैले पार्टीभित्र छलफल गरिरहेको छु,’ देउवाले प्रचण्डलाई भनेका छन्।
शनिबारको बेठकमा सहमति नजुटेपछि आइतबार बिहान १० बजे गठबन्धनको बैठक फेरि बोलाइएको छ। बैठकमा आलोपालो नेतृत्वका लागि सबै तयार रहेपनि कसले पहिले नेतृत्व गर्ने भन्नेमा सहमति नभएको हो।














