चितवन । नारायणगढ बजार क्षेत्रका संरचना भत्काउने काम रोक्न उद्योग वाणिज्य संघ चितवनले माग गरेको छ । संघका अध्यक्ष चुननारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा चितवन जिल्ला अदालतको निषेधाज्ञाको आदेश विपरित एक्कासी डोजर लगाएर संरचना भत्काउने काम गर्नु आपत्तिजनक रहेको बताइएको छ ।
सडक डिभिजनले आज बिहानदेखि राजमार्ग क्षेत्रमा परेका संरचना भत्काउन सुरु गरेको थियो । भरतपुर महानगरपालिकाबाट नक्सा पास र घर सम्पन्न प्रमाणपत्र समेत लिएका घरमा डोजर लगाइनु न्यायसंगत नभएको भन्दै संघले तोडफोड भएका घरको घरधनीलाई न्याय गरिदिन आग्रह गरेको छ ।
संघको विज्ञप्तिमा भनिएको छ–
विकास निर्माणको सवालमा अन्तर सरकारी कार्यालय विच समन्वय नहुंदा व्यवसायी र सर्वसाधारण र घर धनी समेत आजित भएको अवस्था रहेको छ । राज्यकै कुनै निकायबाट भवन निर्माणको लागि अनुमति प्रदान गर्ने र राज्यकै अर्को निकायबाट निर्माण भैसकेको संरचना भत्काउने कार्य लज्जास्पद रहेको संघले महसुस गरेको छ ।
यसै सवालमा सडक विस्तारको क्रममा सडक बिभागद्धारा आफ्नो घरमा क्षति पुऱ्याउन लागेको भनि भमनपा ६ निवासी मुक्तिराम अधिकारीद्धारा चितवन जिल्ला अदालतमा निषेधाज्ञाको लागि निवेदन दिएको र सम्मानित जिल्ला अदालत चितवनबाट मिति २०७९ मंसिर ११ गते जारी निषेधाज्ञा बमोजीम भरतपुर महानगरपालिकाद्धारा नक्सा पास र घर निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त भएका भवनमा कुनै किसिमको क्षति हुने कार्य नगर्नू नगराउनु भनि सडक डिभिजन कार्यालय भरतपुरलाई निषेधाज्ञा समेत जारी भएको अवस्थामा घर धनी र व्यवसायीलाई व्यवस्थापनको समय समेत नदिई नगरको सुन्दरतानै विग्रने तवरले एक्कासी डोजर लगाई संरचना भत्काउने कार्यको घोर भत्सर्ना गर्दै उक्त कार्य बन्द गर्नका लागि उद्योग वाणिज्य संघ चितवन सम्बन्धित निकायमा जोडदार माग गर्दछ ।
साथै तोडफोड भएका घरधनिलाई यथोचित न्याय गरिदिनुहुन समेत यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछौं ।














