काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भोलि (शुक्रबार) सुरु हुने भनिएको नेपाल टी–२० क्रिकेट लिगको मिति सारेको छ । क्यानले लिग एक दिनपछि सार्दै शनिबार सुरु हुने जानकारी गराएको हो ।
लिग सुरु हुन एक दिन बाँकी रहँदासम्म क्यान आफैँ बेखबर जस्तो बनेको थियो । बिहीबार साँझ विज्ञप्ति निकाल्दै शनिबारदेखि नेपाल टी–२० क्रिकेट लिग हुने जानकारी दिएको हो । त्यस्तै, क्यानले नेपाल टी–२० लिगको प्रतियोगिता निर्देशकमा संघका महाप्रबन्धक वृत्तान्त खनाललाई नियुक्त गरेको छ ।
टीयू क्रिकेट मैदानमा हुने लिगमा ६ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा जनकपुर रोयल्ससँगै, काठमाडौँ नाइट, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड र विराटनगर सुपर किंग्स छन् ।














