काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि केवल सीमित व्यक्ति वा समूहका लागि नभई आम जनताले महसुस गर्ने गरी हुनुपर्नेमा जोड दिएकी छिन् ।
‘राइजिङ नेपाल समिट’मा प्रमुख वक्ताको रूपमा बोल्दै भण्डारीले भनिन्, ‘हामीले के पनि बिर्सनु हुँदैन भने समृद्धि केवल मुठ्ठीभर मानिसहरूको लागि होइन, आममानिसका लागि हुनु पर्दछ।’
भण्डारीले राजनीतिक स्थायित्व र विश्वासको वातावरण निर्माण गरेर मात्रै देशमा लगानी भित्र्याउन सकिने र त्यसको प्रतिफल सबै नागरिकसम्म पुर्याउनुपर्ने बताइन् । लगानीसँगै रोजगारी, सामाजिक समावेशिता, ग्रामीण विकास र वातावरणीय जिम्मेवारी जस्ता विषयलाई सँगसँगै लैजानुपर्ने आवश्यकता रहेको उनको जोड थियो ।
पूर्वराष्ट्रपति भण्डारीले लगानीको ढोका खोल्नु भनेको केवल पुँजी र मुनाफाका लागि मात्र नभई न्याय, सम्भावना र विश्वासका लागि पनि भएको बताइन्। ‘देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठुलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै हो’ उनले भनिन्, ‘नीतिगत स्पष्टता, विधिको शासन र पारदर्शी प्रशासन आवश्यक छन्, तर त्यसको आधार बनाउने कार्य राजनीतिक नेतृत्वको काँधमा छ।’
नेपालले अरूको विकास मोडेलको नक्कल गर्नुभन्दा पनि आफ्नै समाजको आवश्यकता, स्रोत, साधन र सम्भावनालाई विश्लेषण गरेर समृद्धिको मार्ग तय गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीको सुझाव छ । कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गरी आयात प्रतिस्थापन गर्नु अर्थतन्त्रको मुख्य आधार भएको उनको भनाइ थियो ।
स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आह्वान गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन र विश्वासको नयाँ युगमा प्रवेश गरिरहेको बताइन् । ‘यहाँ लगानी गर्नु केवल मुनाफा कमाउने कुरा मात्र होइन, इतिहासको साझेदार बन्ने अवसर पनि भएको भन्दै उनले नेपालमा गरिएको लगानीले गरिबलाई रोजगारी दिने, एक उद्यमीलाई हौसला दिने र गाउँलाई उज्यालो दिने काम गर्ने बताइन् ।











