काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता राति नै वेबसाइटबाट हटाइएको बताएका छन्।
बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले २०८१ सालमै पार्टी सदस्यता नवीकरण गरेको बताएका हुन्। उनले भने ‘६४१ नम्बरमा पार्टी सदस्यता छ, वेबसाइटमा राखिएको चिज राति हटाइयो भन्ने सुन्दैछु।’
पूर्वराष्ट्रपतिलाई नागरिकका रूपमा पार्टीमा सक्रिय हुन संविधान वा विधानले नरोकेको उनले बताए। ‘राजनीति गर्न नपाइने भए संविधान वा विधानले रोक्नुपर्यो। पार्टीका निर्णय पनि संविधान र विधानसम्मत हुनुपर्यो नि’ उनले भने ।
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिने भनेर केन्द्रीय कमिटीमा निर्णय सुनाइए पनि सधैंका लागि टुंगो नलागेको उनले बताए।
‘सदस्यताको विषय छलफल क्लोज भएको भन्ने मलाई लाग्दैन, एकपल्ट केन्द्रीय कमिटीमा त्यसरी सुनाइसकेपछि सधैंका लागि क्लोज भएन,’ उनले भने, ‘पार्टीभित्र निम्त्याइएको बहस, विवाद जस्तो लाग्छ। सरसल्लाहले पार्टी अध्यक्षले छलफल गरेर टुंगो होला भन्ने लागेको थियो। सल्लाह र समझदारीले टुंग्याउने कुरा थियो, तेजोबध गर्ने कुरा थिएन।’











