भरतपुर । स्टुडेन्ट वर्ल्ड चितवन शैक्षिक परामर्श संस्थाले मंगलबारबाट भरतपुरमा सेवा शुभारम्भ गरेको छ ।
संस्थाका प्रमुख सुदीप सिं अधिकारीले नेपालमै उच्च शिक्षा पछिको भविष्यको खोजी र सल्लाह दिइने काम आफूहरुको प्राथमिकतामा रहेको बताए ।
‘प्लस टू गर्ने बित्तिकै विदेश जाने चलन छ, हामी पहिलो चरणमा देशमै भविष्य छ भनेर सल्लाह दिन्छौ, भविष्य देखाउँछौ, उनले भने,‘विद्यार्थी र अभिभावकको चाहना नै विदेश हो भने पनि त्यसै अनुसार सल्लाह दिन्छौ ।’
शुभारम्भ कार्यक्रममा बोल्दै भरतपुर वडा नंं १० का अध्यक्ष परमेश्वर खनालले शैक्षिक परामर्श संस्थाले विद्यार्थीलाई गतिलो सल्लाह दिएमा केही प्रतिशत विद्यार्थीहरू नेपालमै रहने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले उज्जव भविष्यको खोजीका लागि प्लस टू गर्ने बित्तिकै विदेश जाने चलन रहेकाले स्नातकसम्मको अध्ययन देशमै पुरा गरेर जाँदा राम्रो हुने बताए ।
हिसान चितवनका अध्यक्ष दिपेन्द्र ढकालले विद्यार्थीहरू अधिकांश वैदेशिक अध्ययनमा जाने र रोजगारीसँग जोडिने परम्परा नै बनेको भन्दै विदेश मोह रोकेर देशमै भविष्य खोजीका लागि शैक्षिक परामर्श केन्द्रहरूले भूमिका खेल्नुपर्ने बताए । स्टुडेन्ट वल्र्ड शैक्षिक परामश संस्था नेपालमा काठमाडौँ र चितवनमा रहेको छ । संस्थाका सिइओ अमर घिमिरेले नाफा भन्दा पनि सेवामा आफूहरू केन्द्रीत हुने बताए ।











