चितवन । नक्कली सुन देखाई सक्कली सुन ठगी गर्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा लामो समयदेखि नक्कली सुन र पैसा देखाई विभिन्न बहाना बनाएर झुक्यानमा पारी ठगी गरेको आरोपमा मकवानपुर बागमती गाउँपालिका–१ बस्ने ५९ वर्षीय ढक्कल बहादुर थिङ र हेटौंडा उपमहानगरपालिका–१९ बस्ने ६१ वर्षीय राधाकृष्ण ढकाललाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर पक्राउ परेका व्यक्तिहरुमाथि ठगी सम्बन्धि कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । तीन जना पिडितको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई नारायणगढको लायन्स चोकबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट सुन जस्तो देखिने धातुको चारपाटे टुक्रा एक थान, नगद ३० हजार ५९५ रुपैयाँ र माथि एक हजारको नोट राखि भित्र कागज र १० रुपैयाँको नोट राखि बनाएको बिटो दुई थान बरामद गरिएको खनालले बताए ।
ठगी कसुरका आरोपितहरुले बृद्धबृद्धा र महिलाहरुलाई लक्षित गरी ठगी गरेको पाइएको छ । गाउँबाट ल्याएको सुनको बिस्कुटको बिल नभएको र बेच्न समस्या भएको भनि उनीहरुले पीडितलाई विश्वासमा पार्ने गरेको प्रहरी स्रोत बताउँछ ।
‘सुनको बिस्कुट बेच्नलाई आफुसँग बिल नभएको र आफु एकदमै समस्यामा परेको भनि पीडितलाई विश्वासमा पारी पीडितले लगाएको सिक्री वा औँठीसँग नक्कली सुनको बिस्कुट साटी ठगी गरेको पाइएको छ । आफुले लगाएको भन्दा धेरै मूल्यको सुन पाउने भएपछि पीडितले पनि अरु केहि नसोची सिक्री र औँठी दिने गरेको देखिन्छ’, स्रोतले भन्यो ।
कुनै स्थानमा भने पैसाको बिटो फेला पारेको जस्तोगरी नाटक मञ्चन गरी पीडितलाई पैसा दिएर सुनका गहना लिने गरेको पाइएको छ । यसरी ठगीमा पर्ने पीडितको संख्या १२ भन्दा बढी रहेको प्रहरीको अनुमान छ ।
आफु ठगीमा परेको थाहा पाएपछि पीडितहरुले प्रहरीमा निवेदन दिन पनि थालेका छन् । घरमा भनेपछि गाली सुन्नुपर्छ भनेर कतिपय पीडितहरु चुपचाप बसेको प्रहरी स्रोत बताउँछ ।











