सिरहा। सिरहामा एकजना शिक्षकले आफ्नै छात्रामाथि लामो समयदेखि यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको छ।
गाेलवजार नगरपालिका-८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाका शिक्षक हरि श्रेष्ठले चारजना बालिका माथि लामो समयदेखि यौन दुर्व्यवहार गरेको घटना सार्वजानिक भएको हो।
नमुना विद्यालयमा अध्यनरत्त चार जना छात्राहरु माथी शिक्षक श्रेष्ठले कक्षामा पढाउने क्रममा संवेदनशिल अङ्गहरु छोइदिने, शरीर मुसार्ने अङगालो हालेर गाला सुमसुम्याउनेजस्ता क्रियाकलाप गर्ने गरेको पीडित बालिकाहरुले बताएका छन्।
पीडित बालिकाहरु शिक्षक श्रेष्ठको दुर्ब्यावहारबाट आजित भएर अभिभावकहरुलाई घटना सुनाएका थिए। एकजना पीडित बालिकाले केहीदिन अगाडि नै विद्यालयका शिक्षिका रञ्जु सिंहलाई उनकाे हर्कतका बारेमा सुनाएका थिइन् । शिक्षिका रञ्जु सिंहले घटना थाहा पाए पछि प्रधानाध्यापक ब्रह्मदेव सिंहलाई सुनाइन् । प्रधानाध्यापक सिंहले शिक्षक हरि श्रेष्ठसँग तपाईको बारेमा यस्तो गुनासो आएको के हो ? भनि सोधीखाेजीसमेत गरेका थिए।
घटना सार्वजानिक भएपछि शिक्षक श्रेष्ठ पीडित बालिकाको घरमै पुगेर आफुले बदनियतपूर्वक केही गरेको होईन्, यस विषयलाई धेरै अगाडी नबढाउन भन्दै माफिसमेत मागेकाे खुलेकाे छ ।
यता, बालिकाहरुका अभिभावकले भने आफ्नी छोरीहरु माथी यौन दुर्व्यवहार गर्ने शिक्षक श्रेष्ठलाई कानुनी कारवाहीक अगाडी बढाउन विद्यालयसँग माँग गरेका छन्। प्रधानाध्यपक लगायत शिक्षक र केही व्यक्तिहरुले घटना सामसुम पार्ने प्रयास गरिरहेको जानकारी पाएपछि आक्रोसित स्थानियहरुले विद्यालयको प्रशासनिक भवनमा तोडफोड गरेका छन्।
यस विषयमा प्रधानाध्यापक ब्रहमदेव सिंहलाई प्रतिक्रियालिन खोज्दा उनले भने, ‘म एउटा मिटिङमा छु, भेटेरै कुरा गरौंला, म माथी लगाईएको आरोपहरु सबै झुठो हो।’
मुक्ति नेपालका अध्यक्ष देवकुमारी रामले बालिकाहरुको कुरा सुन्दा उनीहरु पीडित रहेको प्रष्ट भएको बताए। उनले भने, ‘पहिलो कुरा यसरी बालिकाहरु यस्तो घटनामा प्रहरीसम्म पुग्दै पुग्दैन, उहाँहरु प्रहरीमै आएर दिएको बताए पनि बालिकाहरु पीडित रहेको भन्न गाह्रो छैन।’
इलाका प्रहरी कार्यालय गोलबजारले पीडित बालिकाहरुलाई थप स्पस्ट हुनका एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सिरहा पठाएको छ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार सिंहले भने विद्यालयलाई मदनाम गर्न केही शिक्षक र व्यक्तिहरु सक्रिय रहेको भन्दै उनिहरुले नै नियोजित रुपमा घटना खडा गरेको बताए। उनले भने, ‘कामचोर केही शिक्षकहरु र बाहिरकै व्यक्तिहरु विद्यालयलाई धारासायी बनाउने योजनामा छन्, उनीहरुकै ग्रयान्ड डिजाईनमा नियोजित घटना बनाएको हो।’
घटना सार्वजनिक भएपछि शिक्षक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा राखेको छ।











