देवघाट । देवघाट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ।
सामुदायिक र गुरुकुलका गरी नौ जनालाई करसहित जनही १० हजार रुपैयाँले पुरस्कृत गरिएको हो ।
सामुदायिक विद्यालयका तीन जना र गुरुकुलका छ जना विद्यार्थीलाई पुरस्कृत गरिएको देवघाट गाउँपालिकाको शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए ।
कालिका माविका दिलिप गुरुङ, आकृती लामिछाने र बबिता भुजेल, महेश संस्कृत गुरुकुलमका आदर्श घिमिरे, जीवनाथ शर्मा, लक्ष्मी प्रसाद पौडेल, सिद्धार्थ अर्याल र मा कल्याणी वैदिक कन्या गुरुकुलका दुर्गा थापा र दुर्गा पराजुली पुरस्कृत भएका हुन् । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उत्कृष्ट नजिता ल्याएकामा विद्यार्थीलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरे ।
देवघाट गाउँपालिकाका विद्यालयले एसईई नतिजामा सुधार ल्याएका छन् । गत चैतमा भएको एसईई परीक्षामा देवघाटका १३ विद्यालयका २४७ विद्यार्थी सहभागी थिए । त्यसमध्ये ७८.१४ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो भन्दा राम्रो नतिजा तनहुँको अरु कुनै पनि पालिकाले ल्याउन सकेनन् । अघिल्लो एसईई परीक्षामा ६० प्रतिशत मात्रै विद्यार्थी ग्रेडेड भएका थिए ।











