काठमाडौं। धानको उत्पादनमा वृद्धि एवं आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव दिवस मनाइँदै आए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिमाणमा धानचामल आयात हुने गरेको छ ।
यस वर्ष पनि ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासाथ २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ । कृषि विभागको आयोजनामा आइतबार सो दिवस मनाउन लागिएको हो ।
आजको गोरखापत्र दैनिकमा समाचार छ, धान उत्पादन बढाउने पहल धेरै भए पनि कृषिप्रधान देशको स्थानीय उत्पादनले माग धान्न नसक्दा ११ महिनामा झन्डै ३९ अर्ब रुपियाँ बराबरको धानचामल आयात गरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ)मा ३८ अर्ब ९४ करोड रुपियाँको धानचामल आयात भएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब १२ करोड रुपियाँ बराबरको धानचामल आयात भएको थियो । यो वर्ष झन्डै दोब्बर रकमले धानचामलको आयात बढेको तथ्याङ्कले देखाएको छ ।
चालु आवको ११ महिनामा सबैभन्दा धेरै २१ अर्ब १५ करोड रुपियाँ २६ करोड १९ लाख १९ हजार केजी धान आयात भएको छ । गत वर्ष सो अवधिमा १२ अर्ब ४३ करोड रुपियाँ बराबरको १५ करोड ३७ लाख आठ हजार केजी धान आयात भएको थियो ।
यस्तै चालु आवमा १७ अर्ब ७८ करोड ५७ लाख रुपियाँ बराबरको पाँच करोड ७३ लाख ६६ हजार केजी चामल आयात भएको छ । गत वर्ष सो अवधिमा आठ अर्ब ६९ करोड १६ लाख रुपियाँको दुई करोड ६९ लाख सात हजार केजी चामल आयात भएको थियो ।
यस वर्ष धानचामल आयातमा दोब्बरले बढेको तथ्याङ्कले देखाएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा आयात हुने गरेको हो । मुलुकमा धानको उत्पादन बढे पनि आयात पनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । कृषि विभागका अनुसार मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको माग रहेकोमा १० लाख मेट्रिक टन अपुग छ ।
विभागका महानिर्देशक प्रकाश सन्जेलले नेपालमा कम उत्पादन हुने मसिना तथा बास्नादार चामलको प्रयोगले गर्दा आयात बढी भएको जानकारी दिए । भारत सरकारले निर्यातमा कर घटाएका कारणले पनि धानचामलको आयात बढी भएको उनले बताए । धानको उत्पादन बढाउन बर्खे धानको उत्पादनसँगै उत्पादकत्व र चैते धानको क्षेत्रफल विस्तार गर्न सकिने उनको धारणा छ ।











