काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । एसईईको नतिजामा गत वर्ष भन्दा सुधार देखिएको छ ।
गत वर्ष ४७.८६ प्रतिशतमात्रै विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएको थिए । यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएकाे बाेर्डले जनाएकाे छ ।
यसअनुसार गत वर्षभन्दा अहिले १३.९५ प्रतिशतले एसईईको नतिजा सुधार भएको हो ।
नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २।४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
गत वर्ष एसइईको नजिता खराब आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शिक्षा मन्त्रालयसम्मले त्यसमा चासो दिएका थिए । प्रधानमन्त्री ओलीले बारम्बार एसइईको नतिजा सुधार गर्नेगरि काम गर्न निर्देशन दिएका थिए ।
एसईईमा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् ।
परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो ।











