२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई जेलबाट छुटाउनको लागि सरकारले ल्याउन लागेको अध्यादेश प्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा विश्वप्रकाश शर्माले यस अध्यादेशको विरोध गरेका छन् । शर्माको ट्विटरलाई समर्थन गर्दे थापाले अध्यादेश गलत भएको भन्दै आफ्नो मात्र नभएर पार्टीको समते यही धारणा भएको बताएका छन् ।
‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ, गगनले भनेका छन्, ‘यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ ।’
शर्माले भने अध्यादेशलाई गलत भन्दै अध्यादेश ल्याउनुमा कानुनी र राजनीतिक प्रश्न मात्र नभई यो प्रकरणमा नैतिक प्रश्नसमेत जोडिएको बताएका थिए ।
त्यसमा समर्थन जनाउँदै थापाले अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अघि बढाउन सक्छ ।’
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलगायतलाई जेलबाट छुटाउनका लागि मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।














