काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अहिले अपारदर्शी र असंवैधानिक सरकार भएको बताएका छन्।
रूपन्देहीको भैरहवामा आज प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले अहिलेको सरकार बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको दाबी गरे। उनले कांग्रेस र एमालेका एक–दुई नेताबाहेक अरुलाई थाहा नदिई अपारदर्शी ढंगले बनेको बताए।
‘यो सरकारको जन्म नै संविधान कुल्चेर अप्राकृतिक ढंगले भएको हो,’ उनले भने, ‘यो भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो।’
उनले आफूले यो सरकारले विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ (३) अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भनेको स्मरण गराए। उनले कांग्रेससँगको गठबन्धनमा एमाले नेतृत्वको सरकार बनेदेखि नै जनतामा कुनै आशा नभएको दाबी गरे।










