काठमाडौँ । मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिवार राति भएको खेलमा पोर्चुगललाई १–० ले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो।
खेलको पूर्वार्धमा नै मोरक्कोले एक गोल गरेको थियो। मोरक्कोका एन नेसरीले ४२औँ मिनेटमा एक गोल गरेका थिए। यह्या अतिअतको पासलाई सदुपयोग गर्दै उनले ‘हेड’मार्फत गोल गरेका थिए। यो गोलसँगै नेसरी विश्वकपको इतिहासमा मोरक्कोका तर्फबाट सबैभन्दा बडी गोल गर्ने खेलाडी बनेका छन्।
समग्रमा योपटक मोरक्कोले ३६ वर्षपछि इतिहास दोहोर्याउँदै नयाँ इतिहास बनाएको छ। उक्त प्रतिस्पर्धामा पूर्वार्धमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखिएको थियो।
५१ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोलाई मैदानमा उतारिएको थियो। राफेल गुरेरोका ठाउँमा रोनाल्डोलाई मैदानमा ल्याइएको थियो। यसैगरी जोआओ क्यान्सेलोलाई बाहिर पठाई रुबेन नेभेसलाई खेलाइएको थियो।
विश्वकपमा पहिलोपटक क्वार्टरफाइनल यात्रा तय गर्दै नयाँ इतिहास बनाएको मोरक्को जारी विश्वकपकै यात्रा थप लामो बनाउने प्रयासमा मैदानमा उत्रिएको थियो। पोर्चुगलविरुद्ध मोरक्कोले सन् १९८६ को विश्वकपमा समूह ‘एफ’ अन्तर्गतको खेलमा ३–१ ले जितेको थियो।











