काठमाडौँ, मंसिर २४–
कतारमा जारी विश्वकप फुटबल अन्तर्गत गएराति भएको क्वाटरफाइनलका खेलबाट अर्जेन्टिना र क्रोयसिया सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै साविक उपविजेता क्रोएसिया अन्तिम चारमा पुगेको हो।
एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। ३० मिनेटको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। उनले पाक्वेटाको पासमा १०५औं मिनेटमा गोल गरेका थिए।
यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका छन्। नेयमारको यो ब्राजिलका लागि ७७ औं गोल हो। पेलेले पनि ७७ गोल गरेका छन्। तर, खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच, मिस्लाभ ओर्सिचले गोल गरे। ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे। तर, रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके। सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिना र नेदरल्याण्डबीचको विजेतासँग खेल्नेछ।
त्यस्तै, गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेपछि नेदरल्याण्ड्सलाई पेनाल्टी शूटबउटमा ४–३ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
लुसेल आइकोनिक स्टेडियममा भएको नाटिकय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बन्दा अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो ।











