नारायणगढ । आगामी पुष ११ गते हुन गइरहेको फेन्सी व्यवसायी संघ चितवनको ३४औँ साधारणसभा तथा १८औँ अधिवेशनको लागि शंकरप्रसाद घिमिरेको समूहले उमेदवारी घोषणा गरेको छ ।
सोमबार नारायणगढमा व्यवसायीहरूको भेला गराई घिमिरेले उमेदवारी घोषणा गरेका हुन्। घिमिरेको समूहमा वरिष्ठ उपाध्यक्षमा पाण्डव ढकाल र उपाध्यक्षमा मीना बस्यालले उमेदवारी घोषणा गरेका छन्।
हाललाई पदाधिकारीमा अध्यक्ष वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको टुंगो लागे पनि कार्यसमिति सदस्यको टुंगो लागिसकेको छैन। क्षेत्रगत हिसाबले समेट्नुपर्ने भएकोले आन्तरिक छलफलमै रहेको अध्यक्ष पदका उमेदवार घिमिरेले जानकारी दिए। संघअन्तर्गतका व्यवसायीको हकहितका लागि पनि आफूले काम गर्ने सोच लिएर अगाडि बढेको उनले बताए।
१२ वर्षदेखि निरन्तर संघभित्र रहेर काम गरेको अनुभवका आधारमा पनि आफूले नेतृत्व सम्हाल्न सक्ने उनको दाबी छ। व्यवसायी धरापमा परेका बेला जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार भएर निर्वाचनमा होमिएको उनको भनाइ छ।
संघअन्तर्गत हाल करिब ९०० सदस्य छन्। चितवनमा रहेका निजी क्षेत्रमा सबैभन्दा धेरै व्यवसायी भएकोले उद्योग वाणिज्य संघ चितवनको हरेक निर्वाचनमा फेन्सी व्यवसायी संघको भूमिका महत्वपूर्ण हुने गरेको छ। हालसम्म फेन्सी व्यवसायी संघको नेतृत्व लिन दुई जनाले अध्यक्ष पदमा दाबी गर्दै आएका छन् । संघका वरिष्ठ उपाध्यक्ष यमप्रसाद घिमिरेले अध्यक्ष पदमा यसअघि नै उमेदवारी घोषणा गरिसकेका छन् ।














