सुनिता सुवेदी
चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरको पारी पुरानो पदमपुरमा गत महिना घाइते अवस्थामा एउटा गैँडाको बच्चा फेला पर्यो । जंगल गएका नेचरगाईडले घाइते गैंडाको बच्चा देखेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई त्यसबारे जानकारी दिए ।
जानकारी दिएकै दिन राष्ट्रिय प्रकृति संरक्षण कोषको टिम जंगल जाँदा गैंडा भेटिएन । अर्को दिन गत कात्तिक १० गते फेरि घाइते गैँडा एक्लै भएको खबर आएपछि उसको उद्धार गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछानेले जानकारी दिए ।
उक्त गैँडाको केटीको नाम पूजा राखिएको छ । भाइटिकाको दिन भेटिएकाले उसको नाम पूजा राखिएको हो । घाइते गैँडालाई भेटेपछि बाघले आक्रमण गर्दा माउले बाघलाई लखेट्ने क्रममा आमाछोरीको बिछोड भएको हुन सक्ने अनुमान गरिएको लामिछानेले बताए ।
‘बाघले झम्टेको नदेखेपनि गैंडाको चोटको प्रकृति हेर्दा बाघको नङ्ग्राको जस्तै दाग देख्दा बाघकै कारण घाइते भएको जस्तो देखिन्थ्यो, उनले भने, ‘हामीले भेट्दा एक्लै थियो, अघिल्लो दिनमा नेचर गाईडहरुले देखेको रिपोर्ट आएपछि जाँदा भेटिएन । भोलिपल्ट फेरि घाइते गैँडा एक्लै छ भन्ने रिपोर्ट आएपछि उद्धार गरिएको हो ।’
यसअघि पनि राष्ट्रिय प्रकृति संरक्षण कोषले २ वटा गैँडाको उद्धार गरी संरक्षण गर्दै आइरहेको छ । नवलपरासीको जंगलमा आमाबाट छुट्टिएकी पुष्पा र अञ्जली पनि अहिले त्यही छन् । पुष्पालाई ३ वर्ष र अञ्जलीलाई २ वर्ष अगाडि उद्धार गरेर ल्याइएको लामिछाने बताउँछन् ।
हाल ३ वटै गैँडाको हेरचाह गर्ने जिम्मा भने ४ वर्ष अगाडिबाट राष्ट्रिय प्रकृति संरक्षण कोषमा जागिर सुरु गरेका जाजरकोटका लाल बहादुर महतराले पाएका छन् । ३ वर्षदेखि पुष्पा र त्यसपछि नवलपरासीमा भेटिएकी अञ्जलीको हेरचाह गर्दे आएका महतरालाई १ महिनादेखि पूजाको पनि ख्याल गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।
पुजालाई घाइते अवस्थामा जयमंगलाको जंगलमा भेटाएपछि उसको अवस्था हेर्दा बाघले झम्टेको आशंका गरिएको महताराले बताए । ‘पूजालाई यहाँ गम्भिर घाइते अवस्थामा ल्याइएको हो । उसको एउटा खुट्टाको पातो फुस्केको थियो । घाउबाट पिप बगिरहेको थियो’, उनले भने, ‘उसलाई डाक्टरले हेरेपछि मलाई औषधी लगाउन र दूधको मात्रा मिलाएर खुवाउन सिकाएअनुसार नै खुवाउँदै आएको छु ।’
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछानेका अनुसार ३ वटै गैँडाहरु एकअर्कासँग मिलेर बसेका छन् । अञ्जली भन्दापनि पुष्पा जेठी भएकाले पुष्पामा आफ्नो आमाको झल्को लागेर पूजा आमासंगै जस्तो गरेर हिँड्ने गरेको उनले बताए ।

‘पूजा सानो बच्चा भएकोले सायद उसलाई आमाको झल्को आउने भएकोले होला अञ्जली भन्दा पुष्पासँग नजिक हुने, सँगसँगै हिँड्नुको साथै आमासँगै जस्तो गरेर हिँड्छे’, उनले भने, ‘कतिपय बेलामा दूध खान खोजेको जस्तो पनि गर्ने गरेको देखिएको छ । पुष्पाले पनि पूजाको हेरचाह गरेको, सँगै लिएर हिँडेको देखिन्छ ।’
उनका अनुसार, पुजालाई मात्रै एक महिनामा १५ देखि २० हजारको दूध चाहिन्छ । अञ्जलीलाई विहानमा दुध, दिउँसो घाँस र बेलुका मकैको च्याँख्ला पकाएर खुवाउने गरेको उनको भनाई छ । पुष्पाले दिनभरी घाँस खाने र साँझमा च्याख्ला खाने गर्छे ।
पूजाले पनि पुष्पाञ्जलीको आड लिएर विस्तारै घाँस टिप्न लागेको उनीहरुकै ख्याल गरिरहेका महतराले बताए । गाईभैँसीको दूध पचाउन नसक्ने भएपछि डाक्टरले भनेअनुसारकै पाउधर दूध खुवाउने गरेको उनले बताए ।
अहिले तीनवटै बच्चाहरु मिलेर बस्ने गरेको उनी बताउँछन् । पूजालाई कसरत गराउन उनले दैनिक ५ मिनेटजति दौडाउँछन् । उनले भने, ‘पूजाले पुष्पाञ्जलीलाई आफ्नो आमा जस्तै सोच्छ । उनीहरुले पनि पूजालाई आफ्नो बच्चा जस्तै सोचेर बीचमा राखेर हिँड्छन् ।’ सुरुसुरुमा झ्याउ लाग्ने गरेतापनि आजकल जनावरसँग घुलमिल हुँदै जाँदा रमाइलो लाग्नुको साथै सबै वन्यजन्तुको माया लाग्न थालेको उनले बताए ।
केहि समय पहिले पुष्पालाई जंगलमा छाड्ने कुरा थियो । लामिछानेका अनुसार उनीहरुलाई विस्तारै जंगल छाड्ने तयारी भएतापनि कहिले सिजन त कहिले व्यस्थापनको कारण ढिलो भइरहेको हो । पुजालाई पुष्पाञ्जलीको साथले घुलमिल हुन सहज भएको कारणपनि उनीहरुलाई छुट्याउन गाह्रो भइरहेको उनले बताए ।
‘उनीहरु जंगलमा गएर बस्न सहज हुने वातावरणको ख्याल राख्नुपर्यो, एकैचोटी भन्दापनि विस्तारै विस्तारै बानी लगाएर छाड्ने भन्ने पनि सोचेका छौँ । तयारीसँगै छलफल पनि हुँदै छ’, उनले भने, ‘प्राकृतिक वासस्थानमा तारबार लगाएर छाडेपछि उनीहरुको व्यवहार हेरेर जंगलमा छाड्ने नछाड्ने भन्ने निर्णय सायद त्यसपछि हुन्छ ।’
राष्ट्रिय प्रकृति संरक्षण कोषले नै उनीहरुको खर्च व्यवस्थापन गर्दै आइरहेको छ । कुनै बेला दाताहरुबाट सहयोग लिने गरेतापनि अहिले आफ्नैै आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गरिरहेको लामिछानेले जानकारी दिए । रेस्क्यु सेन्टर (उद्धार केन्द्र) छुट्टै बनाएर उनीहरुको संरक्षण गर्नुपर्ने व्यवस्थापनको अभावले आर्थिक समस्या भएको उनी बताउँछन् ।
‘नयाँ जनावर ल्याएर हेरचाह गर्दा आर्थिक रुपमा छुट्टै स्रोत नहुँदा हामीलाई समस्या पर्ने गरेको छ’, उनले भने, ‘जसकारण त्यसको लागि छुट्टै स्रोत नहुने, भएकै स्रोतबाट व्यवस्थापन गर्दा अर्को काममा सम्झौता गर्नुपर्ने वा कहिलेकाँही स्रोत नभएर अफ्ठ्यारो पर्ने हुन्छ ।’














