चितवन । महिलाको बलात्कार गरी हत्या गर्ने दुई व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका–२ ठेगाना भई हाल भरतपुर महानगरपालिका–२ तिनखोले बस्ने २३ वर्षीय सन्दिप गुरुङ र सोहि ठाउँ बस्ने विजय परियार रहेका छन् ।
उनीहरुले करिब ५५ वर्षीय महिलाको बलात्कार गरेपछि ढुंगाले टाउकोमा प्रहार गरी मारेका थिए । उक्त महिलाको शव मंसिर ४ गते बिहान करिब ६ बजेको समयमा भरतपुर–२ दुर्गा मन्दिर चोकस्थित प्रतिक्षालय पछाडि हाटबजार लाग्ने कम्पाउण्डसहितको खाली चौरमा फेला परेको थियो ।
उक्त घटनापछि सिसिटिभी परीक्षण लगायतका अनुसन्धानबाट हत्याराको पहिचान गरी प्रहरीले पक्राउ गरेको हो । उनीहरुले हत्या गरेको कुरा स्वीकार गरिसकेकोले जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
प्रहरीले हत्या आरोपितले बलात्कार गर्दा प्रयोग गरेको कण्डम र हत्या गर्न प्रयोग गरिएको ढुंगा समेत निजहरुले देखाएको स्थानबाट बरामद गरेको उनले बताए ।











