चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान ३ बजे बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भिर छ ।
दुर्घटनामा परी मृत्यु भएका हायस चालकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चालक खैरहनी नगरपालिका–४ बस्ने वर्ष ४० को अनोज अधिकारीको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान साढे ५ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले बताए ।
त्यसअघि हायसमा सवार चार जना यात्रुको मृत्यु भएको थियो । त्यसमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। मृतक दुई पुरुष र एक महिलाको अझै पहिचान नखुलेको रिजालले बताए ।
मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् ।
बसमा सवार तीन जना सामान्य घाइते भएका छन् भने पक्राउ परेका बस चालक हेटौडा उपमहानगरपालिका–९ बस्ने बर्ष ४४ को सुर्य बिक्रम बिष्टलाई स्वास फेर्न गाह्रो भयो भनेपछि उपचारको लागि चितवन मेडिकल कलेज लगिएको छ ।










