काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलवारदेखि आधिकारिकरूपमा सामाजिक सञ्जाल ‘टिकटक’ सूचीकरण भएको छ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका–२०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ।
सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ।
मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो। दसैँ, तिहार पर्वका कारण केही ढिला भएको उल्लेख गर्दै मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बाँस्तोलाले मङ्गलबार टिकटक प्लाटफर्म विधिवतरुपमा मन्त्रालयमा सूचीकरण गरिएको जानकारी दिइन्।










