चितवन । चितवनमा एकै दिन सात ठाउँमा सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–३ दारेचोकमा शनिवार दिउँसो ३ः२५ बजे बलेरो दुर्घटना हुँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दारेचोकको भित्री कच्चि सडकमा फिस्लिङबाट इच्छाकामनातर्फ जांदै गरेको बागमती प्रदेश ०१–०२५ च ५७८४ नम्बरको बलेरो आफै अनियन्त्रित भई सडकबाट करिब ५० फिट तल खस्दा बलेरोमा सवार १८ जना घाईते भएका हुन् ।
घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भएकोमा ११ जनाको डिस्चार्ज भएको छ भने ६ जना उपचाररत छन् । बलेरो चालक इच्छाकामना–३ बस्ने वर्ष २२ को बिराज गुरुङ फरार छन् ।
भरतपुर महानगरपालिका–११ गुम्बाचोकमा शनिवार बेलुका ५ बजे बा ७१ प ७४१३ नम्बरको मोटरसाइकल र प्रदेश३–०२–००७ प ५७७२ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक भरतपुर–११ बस्ने वर्ष २४ को उमेश घर्तीको हात खुट्टामा चोट लागि सामान्य घाइते भएको र सोहि स्कुटर पछाडि सवार निजको बहिनी वर्ष १८ की उर्मिला घर्तीको टाउको र ढाडमा चोट लागि अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । दुवै घाईतेको सरकारी अस्पताल भरतपुरमा उपचार भई छ भने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कालिका नगरपालिका–२ भाइरल घर नजिक शनिवार बेलुका साढे ५ बजेको समयमा शक्तिखोरबाट गोरखातर्फ जादै गरेको ना ५४ प १९०२ नम्बरको मोटरसाइकल र ना ६३ प १५८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा ना ५४ प १९०२ नम्बरको मोटरसाइकल चालक कालिका–९ बस्ने वर्ष ३३ को दिपक प्रजा, पछाडि सवार निजको छोरी वर्ष ३ की दिया प्रजा र ना ६३ प १५८१ नम्बरको मोटरसाइकल चालक कालिका–२ बस्ने वर्ष ३६ को गोपाल गुरुङ रहेका छन् ।
तीनै जनाको चितवन मेडिकल कलेजमा उपचार भएकामा गोपाल गुरुङलाई थप उपचारको लागि काठमाडौँको न्युरो अस्पताल रिफर गरिएको छ ।
भरतपुर–४ दुर्गाचोकमा शनिवार साँझ ७ः१५ बजे नम्बर नखुलेको मोटरसाइकलले गोरखा गण्डकी गाउँपालिका–२ मकैसिंङ घर भई हाल भरतपुर–४ दुर्गाचोक बस्ने सन्तोष चेपाङको छोरा वर्ष ६ को रञ्जन चेपाङलाई ठक्कर दिँदा निज बालकको टाउकोमा चोट लागेको प्रहरीले बताएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
भरतपुर–५ त्रिवेणी चोकमा शनिवार बिहान १०ः१५ बजे तोरीखेतबाट त्रिबेणी चोकतर्फ आउदै गरेको ना ६३ प ८८२२ नम्बरको स्कुटर र ना ५ त ५७३३ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक भरतपुर–५ नारायणपुर बस्ने वर्ष १८ को अभिषेक बोटे घाइते भए । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
भरतपुर–१५ चौतारा चोकमा शनिवार दिउँसो १२ः२५ बजे महेन्द्रचोकबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा प्र ००४ प २०९२ नम्बरको स्कुटरले साईकललाई ठक्कर दिँदा साईकल यात्री भरतपुर–१५ बिष्णुचोक बस्ने वर्ष ६८ को बिष्णुलाल श्रेष्ठको टाउकोमा चोट लागि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
कालिका–६ को वडा कार्यालय नजिक जमुनापुरबाट खोलेसिमलतर्फ आउदै गरेको बा प्र ६–००१ प २६२७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुंदा स्कुटर चालक कालिका–६ बस्ने वर्ष ३७ को चन्द्र कुमालको दाहिने आँखा र टाउकोमा चोट लागि घाइते भए । स्कुटर पछाडि सवार सोहि ठाउँ बस्ने वर्ष २५ को सुजन कुमालको बायाँ हात र निधारमा चोट लागेको छ । दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।









