चितवन । चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले चितवन २ का प्रतिनिधि सभा सदस्यका उमेदवार रवि लामिछानेलार्ई आज स्पष्टिकरण सोध्ने तयारी गरेका छन् । रविलाई सोध्ने स्पष्टिकरण पनि तयार भइसकेको छ । नागरिकताको विषयमा रविविरुद्ध मंगलबार उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतले उनलाई स्पष्टिकरण सोध्न लागेका हुन् ।
कार्यालय खुलेपछि रविलाई स्पष्टिकरणको पत्र थमाउने निर्वाचन अधिकृतकको कार्यालयको तयारी छ । उक्त स्पष्टिकरणको जवाफ दिन लामिछानेले ७ दिनको समय पाउँछन् । अबको पाँचौँ दिनमा निर्वाचन भइसक्ने भएकाले मतदान भएको दुई दिनपछिसम्म लामिछानेले जवाफ दिन पाउने छन् । लामिछानेलाई चुनाव प्रचार गर्न कुनै समस्या नहुने थापा बताउँछन् ।
‘आज हामीले उहाँलाई स्पष्टिकरण सोध्छौँ । उहाँले ७ दिनभित्रमा स्पष्टिकरणको जवाफ दिन सक्नुहुन्छ’, उनले भने, ‘जवाफ प्राप्त भएपछि हामीले उक्त जवाफ र उजुरीलाई निर्वाचन आयोगमा पठाउँछ । आयोगले नै त्यसको निर्णय गर्छ । उहाँलाई अहिले चुनाव प्रचारमा कुनै समस्या हुँदैन । गर्न पाउनुहुन्छ ।’
यदि उजुरी पुष्टि भएमा आयोगले लामिछानेको उमेदवारी बदर गर्छ । उजुरी पुष्टि हुन नसकेकामा निर्वाचनको मतपरिणाम जे आउँछ त्यहि कायम रहन्छ । आयोगले लामिछानेको उमेदवारी बदर गरिहाले पनि उनी सर्वाेच्च अदालत जान सक्छन् ।










