चितवन । उद्योग वाणिज्य संघ–चितवनका सदस्य व्यवसायीलाई चितवन मेडिकल कलेज भरतपुरले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र चितवन मेडिकल कलेज (सिएमसी) वीच आज छुट दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्व अन्र्तगत रहि संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । सम्झौता पत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताए ।
स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने चितवन मेडिकल कलेज प्रति उनले आभार व्यक्त गरे । कार्यक्रमममा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउंदा खुशी लागेको बताउंदै आगामी दिनहरुमा पनि यस किसिमका छुट उपलब्ध गराउंदै लैजाने बताए । सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरुले संघबाट छुटको परिचय पत्र सहित सदस्यता परिचय पत्र देखाउनु पर्ने तर संघको सदस्यता नवीकरण भएको हुनुपर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
सदस्यहरुले ओपिडी टिकट, र आकस्मिक सेवामा वाहेक अन्यमा २५ प्रतिशत छुट पाउने कार्यकारी निर्देशक केसीले बताए । सम्झौता पत्रमा संघका अध्यक्ष चुननारायण श्रेष्ठ र चितवन मेडिकल कलेजका तर्फबाट प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गरेका हुन् । सम्झौतामा हस्ताक्षर कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदी, स्वास्थ्य संयोजक धनप्रसाद पोखरेल र कार्यकारी निर्देशक निलबहादुर केसीको उपस्थिति रहेको थियो । छुट सुविधा संघका सदस्यका परिवारका सदस्यले समेत प्राप्त गर्नेछन् । सदस्यको सुविधाको लागि संघले अन्य अस्पताल लगायत सेवा प्रदायकसंग पनि यस किसिमका सम्झौता गर्ने संघका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए ।











