चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न अंकित टोपी फेला परेपछि मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सचेत गराएका छन् । लामिछाने चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्दै छन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार उमेदवार वा दलको चुनाव चिह्न आकित टोपी, टिसर्ट, भेस्ट, लोगो, व्याच लगायतका सामग्री वितरण वा प्रयोग गर्न पाइँदैन । आचारसंहिता विपरित दलको चुनाव चिह्न अंकित टोपी प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत थापाले लामिछानेलाई पत्राचार गरी सचेत गराएका हुन् ।
‘उहाँ (रवि)को फोटो र निर्वाचन चिह्न भएको टोपी एक जनाले ल्याएर दिनुभएको थियो । र अनुमति नलिएको अटोमा उहाँको फोटो र निर्वाचन चिह्न टाँसेर चुनाव प्रचारमा हिँडेको अलग अलग ठाउँको फोटो पनि दुई/चार वटा आएको छ’, उनले भने, ‘चुनाव चिह्न अंकित अन्य टोपी वा टिसर्ट छाप्नु भएको वा भण्डार गर्नुभएको छ भने त्यो नष्ट गर्नुस् । वितरण गरिसक्नु भएको छ भने फिर्ता लिनुस् । अब फेला प¥यो भने दसी प्रमाणसहित आयोगमा पठाउँछु भनेर सचेत गराउन पत्र पठाएको छु ।’
अनुमति नलिई सवारी साधन प्रयोग गरी चुनावी प्रचारप्रसार गर्ने दल वा उमेदवारलाई सचेत गराउने निर्णय भएको भन्दै उनले स्वतन्त्र पार्टीले आचारसंहिता उल्लघंन गरेको विषयमा यसअघि पनि मौखिक उजुरी आएको बताए । ‘टेम्पो र अटोमा निर्वाचन चिह्न छापेकोमा हाम्रो आपत्ति हैन, उहाँले अनुमति नलिई त्यसरी प्रचार गर्नुभएकोमा आपत्ती हो’, उनले भने ।
निर्वाचन चिह्न अंकित टोपी अरु पनि फेला प¥यो भने कारबाहीका लागि आयोगमा लेखि पठाउने उनले बताए । ‘मैले त पहिला नगर्नु भन्ने हो । सचेत गराउने हो । त्यसरी भएन भने त आयोगमा लेखि पठाउने हो’, उनी भन्छन्, ‘अब पनि त्यस्तो टोपी वा अन्य सामग्री आयो भने कारबाहीका लागि आयोगमा लेखेर पठाउँछु । आयोगले जे गर्छ, माथिबाटै गर्छ ।’ उजुरीकर्ताले आफ्नो पहिचान गोप्य राख्न चाहेको उनले बताए ।











