काठमाडौं । महोत्तरी जलेश्वरकी कुमारी आमा निहारिका राजपुतको छोराको डीएनए आरोपित शिवराज श्रेष्ठसँग मिलेको छ ।
शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन्। तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले बच्चा र शिवराजको डीएनए मिलेको रिपोर्ट शुक्रबार उच्च अदालत, जनकपुर पठाएको हो । उच्च अदालतले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो ।
राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।
पछि ५ भदौमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् । सहमतिमा उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो ।
निहारिकासँग आफ्नो पहिले सम्बन्ध भए पनि बच्चा आफ्नो नभएको श्रेष्ठले दाबी गर्दै आएका थिए । त्यसका लागि डीएनए जाँच गराउन आफू तयार रहेको बताउँदै आइरहेका थिए । ।










