चितवन। भरतपुर अस्पतालको आकस्मिक सेवा भवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बिहीबार उद्घाटन गरेकी छन्।
यद्यपी असोज २५ गतेदेखि नै भवन सञ्चालनमा आएको थियो । अस्पतालमा यसअघि २० बेडको आकस्मिक कक्ष रहेको थियो, जुन एकदमै अपर्याप्त थियो ।
अस्पतालमा आठ करोडको लागतमा ५० बेड क्षमताको आकस्मिक भवन निर्माण गरिएको हो । हाल ३५ बेड क्षमतामा सञ्चालित आकस्मिक भवन यही महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन हुने बताइएको छ । आकस्मिक भवनभित्रै इमर्जेन्सी ल्याब र एक्स–रे मेसिन पनि जडान गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । मंसिर १ गतेभित्र उक्त ल्याब र एक्स–रे मेसिन पनि सञ्चालनमा आउने उनको भनाइ छ ।
उनका अनुसार भरतपुर अस्पतालमा हाल दैनिक ३५० जना बिरामीले आकस्मिक सेवा लिइरहेका छन् । भरतपुर अस्पतालमा चितवनलगायत विभिन्न १२ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन् । ६०० बेड क्षमताको अस्पतालमा ६० बेड क्षमताको आकस्मिक सेवा भवन हुनुपर्ने भए पनि अझै १० बेड अपुग छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मापदण्डअनुसार अपुग बेड तत्कालै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, आफू काठमाडौँ पुग्नेबित्तिकै भरतपुर अस्पतालमा फोहोर व्यवस्थापनका लागि साढे ३ करोड रूपैयाँ बजेट पठाइदिने उनले बताए ।
यसअघि आकस्मिक भवनको उद्घाटन सचिव पोखरेलबाट हुने भनिएको थियो । अन्तिम समयमा भवनको उद्घाटन मेयर दाहालले रिबन काटेर गरेकी हुन् ।











