चितवन । बाटोको धुलोले आजित भएपछि भरतपुर महानगरपालिका–४ स्थित धर्म चोकका व्यवसायीले चुनाव प्रचारमा आउने दलहरुलाई बहिस्कार गर्न थालेका छन् । दलहरुको मौनताका कारण स्थानीयले लामो समयसम्म धुलोको सास्ती व्यहोर्नु परेको भन्दै स्थानीय व्यवसायीले विरोध गरेका छन् । बिहीबार चुनाव प्रचारमा पुगेको सत्ता गठबन्धनका उमेदवारको विरोध स्वरुप स्थानीय व्यवसायीहरुले सटर बन्द गरेका छन् ।
चुनाव प्रचारका लागि चितवन २ का प्रतिनिधि सभा सदस्य उमेदवार उमेश श्रेष्ठ र चितवन २ (ख)का प्रदेश सभा सदस्य उमेदवार उत्तम जोशी कार्यकर्तासहित धर्मचोक पुगेका थिए । स्थानीयले सांकेतिक रुपमा विरोध गरेपछि केहि समय बोलेर अर्काे ठाउँ गएका थिए ।
चुनावी प्रचारका लागि जुनसुकै पार्टीका उमेदवार धर्मचोक पुगे पनि सांकेतिक रुपमा विरोध स्वरुप सटर बन्द गरिने स्थानीय व्यवसायी भोज नारायण कँडेलले बताए । बैकुण्ठ चोकदेखि धर्मचोक सम्मको बाटो ठेकेदारले लामो समयसम्म अलपत्र पारेर छाड्दा घाम लाग्दा धुलो र पानी पर्दा हिलोले स्थानीय आजित भएको उनले बताए ।
ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन । सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ ।










