चितवन । भरतपुर महानगरपालिका–१५, स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि परेको ठेक्काको मूल्याङ्कनमा ढिलाइ भएको छ ।
महानगरले ३० दिनको म्याद राखेर २०८० फागुन १७ गते ठेक्का आह्वान गरेको थियो । निर्धारित समयभित्र एमए कन्स्ट्रक्सन प्रालि काठमाडौँले मात्रै ठेक्का हालेको थियो ।
ठेक्काको म्याद सकिएको एक महिना हुन लाग्दा पनि निर्माण कम्पनीले पेस गरेको प्रस्तावको मूल्याङ्कन सकिएको छैन । भरतपुर महानगरपालिकाको सहरी पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर सन्तोष आचार्यका अनुसार एमए कन्स्ट्रक्सन प्रालि काठमाडौँले हालेको ठेक्काको मूल्याङ्कन गर्ने काम भइरहेको छ । मूल्याङ्कन सकिएपछि आशयको सूचना निकालेर निर्माण कम्पनीसँग सम्झौता गर्ने काम अगाडि बढ्ने उनले बताए ।
‘अब हप्तादिनजतिमा मूल्याङ्कनको काम सकिन्छ । मूल्याङ्कन समितिबाट जे निर्णय हुन्छ सोहीअनुसार काम अगाडि बढ्छ’, उनले भने, ‘हाम्रो सर्तअनुसार ठेक्का परेको छ÷छैन भनेर मूल्याङ्कन समितिले हेर्छ । डकुमेन्टमा सर्त पूरा भएको रहेछ भने पास हुन्छ, नत्र फेल हुन्छ ।’ प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा चार सदस्यीय मूल्याङ्कन समिति रहेको छ ।
महानगरले टेन्डर निकाल्दा राखेको सर्त निर्माण कम्पनीले पालना गरेमा आशयको सूचना निकाल्ने काम हुन्छ । सर्त पालना नभएको अवस्थामा टेन्डर रद्द गरेर पुनः आह्वान गरिने उनले जानकारी दिए । उनका अनुसार सुरूमा प्राविधिक प्रस्तावको मूल्याङ्कनपछि आर्थिक प्रस्तावको मूल्याङ्कन हुने छ । महानगरले पहिलो चरणमा एक अर्ब २७ करोड रूपैयाँको काम गर्ने गरी ठेक्का आह्वान गरेको थियो ।
उक्त रकमको ७० प्रतिशत बागमती प्रदेश सरकारले र बाँकी ३० प्रतिशत रकम भरतपुर महानगरले व्यवस्था गर्ने सहमति भएको छ । यस रङ्गशालालाई संघीय सरकारले पनि आवश्यक बजेटको व्यवस्था गर्ने बताएको छ । सरकारले रङ्गशालालाई राष्ट्रिय गौरवको योजनामा समावेश गरेको छ ।
आचार्यका अनुसार पहिलो चरणमा थप एक तहको प्यारापिट, दुईवटा टावर, मैदान र अन्य पूर्वाधार निर्माण हुने छ । टावरमा खेलाडी, मिडिया, कर्पोरेट हाउस र भिआइपी बस्ने ठाउँ रहन्छन् भने मैदानमा पर्ने पानी उत्तिखेरै नालामा जाने गरी नयाँ प्रविधिको प्रयोग गरेर मैदान तयार गरिने उनले बताए । ‘पहिलो चरणमा १५ हजार दर्शकले खेल हेर्न मिल्ने संरचना तयार हुन्छ । फ्लड लाइटलगायतका अन्य काम दोस्रो चरणमा हुन्छ’, उनले भने ।
धुर्मुस–सुन्तली फाउन्डेसनले जनस्तरबाट सहयोग जुटाएर निर्माण गरेको रङ्गशालामा ५७ करोड रूपैयाँ खर्च भइसकेको छ । कोरोना महामारीका कारण आर्थिक सहायता जुट्न नसकेपछि रङ्गशालाको काम रोकिएको हो ।
फाउन्डेसनले करिब १८ करोड रूपैयाँको निर्माण सामग्री उधारोमा ल्याएर रङ्गशाला बनाएको थियो । उधारो तिर्नै नसकेपछि फाउन्डेसनले निर्माणाधीन रङ्गशाला महानगरलाई हस्तान्तरण गरेको हो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तर कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको २० बिघा १९ कठ्ठा जग्गामा रङ्गशाला बनाउन लागिएको हो ।