काठमाडौं । टी–२० क्रिकेट श्रृंखला अन्तर्गत दोस्रो खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्ड वुल्भ्ससँग पराजित भएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपाल ४० रनले पराजित भएको हो।
जितका लागि २ सय २५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १७ दशमलव ५ ओभरमा १ सय ८४ रनमै समेटियो।
आठ ओभरमै एक सय रन कटाएको नेपालका ब्याटरले मध्यक्रममा राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए। २५ बल खेलेका उनले ७ चौका हिर्काए।
बसिर अहमदले २७, कप्तान विनोद भण्डारीले २६, लोकेश बमले २५, आरिफ शेखले १४, कमल ऐरीले ११, पवन सर्राफले १० रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो।
आयरल्यान्डका कप्तान नेल रकले सर्वाधिक अविजित ७१ रनको योगदान गरे। ३४ बल खेलेका उनले ७ छक्का र १ चौका प्रहरा गरे। पिटर मुरले ६५ रन बनाए। नेपालका सागर ढकालले ३, कमल ऐरी र पवन सर्राफले एकरएक विकेट लिए।
लगातार दोस्रो हारसँगै नेपालले तीन खेलको श्रृंखला २–० ले गुमाएको छ। पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। तेस्रो तथा अन्तिम खेल आगामी सोमबार हुनेछ।











