चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले माघे सङ्क्रान्तिलाई कुमाल जातिको राष्ट्रिय पर्व भनि राजपत्रमा अंकित हुनुपर्ने बताएकी छन् ।
कुमाल समाज नेपालले माघे सङ्क्रान्तिको अवसरमा भरतपुर–२८ गोलाघाटमा गरेको माघे सङ्क्रान्ति बृहत राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वमा प्रकाशित गर्न सक्दो पहल गर्ने उल्लेख गरिन्।
कुमाल समुदायले उठाएको मागमा एकेवद्धता र समर्थन रहेको प्रमुख दाहालले प्रष्ट पारिन्। प्रकृतिपूजाक कुमाल जातिले माघे संक्रान्तिलाई सबैभन्दा ठुलो पर्वका रुपमा मनाउदै आएकाले यसका लागि जोडदार आवाज उठाउन आवश्यक रहेको प्रमुख दाहालको भनाई छ ।
उनले कुनै पनि अधिकार स्थापित गर्न आ–आफ्नो ठाँउबाट जागरुक हुनुपर्ने र आवाजलाई बुलन्द पार्न आह्वानसमेत गरिन्। संघीय गणतन्त्रको स्थापनापछि राज्यको हरेक तह र निकायमा कुमाल समुदायको उपस्थिति रहेपनि यो प्रयाप्त नभएकाले पूर्ण अधिकार थप संघर्ष गर्न जरुरी रहेको उनले बताइन्।
हिजोको दिनमा कुमालको छोरा छोरी राष्ट्रिय तहमा सांसद हुने कुरा दुरदराजको कुरा थियो, राष्ट्रको केन्द्रीय तहमा प्रतिनिधित्व गर्नुभएको छ, तर यो पुरा भएको छैन–उनले भनिन्।
माघे संक्रान्ति पर्वलाई मगर, थारु, छन्त्याललगायतलाई समुदायको राष्ट्रिय पर्वका रुपमा नेपाल सरकारले घोषणा गरी राजपत्रमा प्रकाशित ग¥यो, तर, कुमाललाई त्यहाँ पनि कुमाल समुदायलाई ईङगित गर्न हुने थियो भनेर विगतदेखि कुमाल समुदाय माग गर्दै आएको प्रमुख दाहालले बताइन्।
माघे संक्रान्ति पर्वलाई राष्ट्रिय पर्वमा लाने विषयमा मन्त्रिपरिषद बैठकमा निर्णय गराएर राजपत्रमा प्रकाशित गराउने कुरामा जिम्मेवार र जोडदार ढङगबाट अघि बढ्ने उनको भनाई थियो । कार्यक्रममा नेपालका ७० जिल्लाबाट २० हजार जना कुमाल समुदायको उपस्थिति रहेको थियो ।











