काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर विश्व कीर्तिमान कायम गरेको छ।
सोमबार काठमाडौँको दशरथ रंगशालामा आयोजित ४९ औं दीक्षान्त समारोहमा सबै भन्दा धेरै सङ्ख्यामा विद्यार्थी तथा अभिभावकको उपस्थित भएको भन्दै आधिकारिक वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर)ले त्रिभुवन विश्वविद्यालयलाई प्रमाणपत्र प्रदान गरेको हो।
यस पटक विश्वविद्यालयबाट कुल ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुने योग्य थिए। जसमध्ये समारोहमा कुल १२ हजार ४ सय १५ विद्यार्थी र तिनका १३ हजार ७ सय अभिभावक गरी कुल २६ हजार एक सय १६को उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको त्रिविका निमित्त उपकुलपति प्रा डा शिवलाल भुसालले जनाए।
कार्यक्रम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिविले धेरै विद्यार्थी दीक्षित गरी विश्व कीर्तिमान कायम गरेसँगै अब विश्व प्रतिस्पर्धी शैक्षिक जनशक्ति उत्पादनमा पनि जोड दिनु पर्ने भन्दै अगामी दिनमा उत्कृष्टताको केन्द्र बन्दै जाने शुभकामना समेत दिए।











