काठमाडौं । नेपालको उत्तरी सीमामा कार्यरत सुरक्षाकर्मीले माइनस २६ डिग्री सेल्सियससम्मको चिसोमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
समुन्द्री सतहबाट ४ हजार १ सय ३२ मिटरको उचाइमा रहेको सुदूर पश्चिमको दार्चुलास्थित बोर्डर आउट पोस्ट (बीओपी) तिंकरमा कार्यरत सशस्त्र प्रहरीका सुरक्षाकर्मीले अहिले माइनस १० डिग्री सेल्सियससम्मको चिसोमा काम गर्नुपरिरहेको छ ।
यस ठाउँमा विगत चार महिनादेखि सशस्त्र प्रहरी बल नेपालको उपस्थिति छ । व्यास गाउँपालिका–१ तिंकरमा २२ भदौ २०८० मा बोर्डर आउट पोस्ट स्थापना भएको हो । यस क्षेत्रको अन्तर्राष्ट्रिय सीमादेखि करिब ११ किलोमिटरको दूरीमा बीओपी रहेको छ । सदरमुकामबाट १ सय १२ किलोमिटर टाढा रहेको बीओपी तिंकर उच्च हिमाली भेग र भिरालो जमिनमा अवस्थित छ ।
बीओपी स्थापना र सिमानामा सिपाहीको उपस्थिति स्थानीय बासिन्दाका लागि सुरक्षाको प्रत्याभूति र राष्ट्रियताप्रतिको भावनात्मक सम्बन्ध जोड्ने सेतुसमेत भएको छ।
उता, समुन्द्री सतहबाट ३ हजार ६ सय ४० मिटरको उचाइमा रहेको हुम्लाको हिल्सामा पनि माइनस २६ डिग्री सेल्सियसको तपक्रममा सशस्त्र प्रहरीले काम गर्नुपर्ने अवस्था छ । ६ असार २०७७ मा हिल्सामा बीओपी स्थापना भएको हो ।
यो ठाउँ सदरमुकामबाट ९६ किलोमिटर र अन्तर्राष्ट्रिय सिमानादेखि ३ सय मिटरको दूरीमा अवस्थित छ । हिल्सामा मंसिरदेखि फागुनसम्म हिउँले ढाक्ने भएको हुँदा अत्यन्त चिसोमा सुरक्षाकर्मीले काम गर्नुपर्ने अवस्था छ । यो समाचार राजधानी दैनिकमा छ ।











