जिम्बाब्वे। जिम्बाब्वेमा खडेरीका कारण कम्तिमा एक सय वटा हात्ती मरेका छन्।
जिम्बाब्बेस्थित हृाङ्गे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ।
पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडब्ल्यू) ले सार्वजनिक गरेको विज्ञप्तिअनुसार हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो शुरू भएको छ। जसका कारण झण्डै ४५ हजार हात्तीको बासस्थान रहेको जिम्बाब्वेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा दर्जनौँ हात्तीहरू मरेका छन्।
“कम्तीमा पनि एक सय हात्तीहरू पानीकै अभावका कारण मृत्यु भएको कोषले उल्लेख गरेको छ। संस्थाको पार्कमा रहेका १०४ वटा सौर्य उर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ। खडेरीले गर्दा पानीका मुहान सुक्दै गएको र वन्यजन्तुलाई खाना र पानीको खोजीमा लामो दुरीसम्म हिँड्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ह्वाङ्गेबाट पानीकै खोजीमा अरु जनावरहरू पनि बोत्सवानाको जंगलतिर लागेका छन्।
२०१९ मा दुई सय भन्दा धेरै हात्ती खडेरीले मरेका थिए। आईएफएडब्ल्यूका अनुसार जिम्बाब्वेमा एक लाख जति हात्ती छन्।











