–सुनिता सुवेदी
चितवन । सामान्यतया हरेक गर्भवती नारीको चाहना प्राकृतिक रुपमा सुत्केरी हुन पाए हुन्थ्यो भन्ने हुन्छ । प्रसव पीडाको समयमा विशेषगरी श्रीमान् वा परिवारका सदस्यसँगै बस्ने मन जो कोही गर्भवती महिलामा हुन्छ । नेपालकाे यदाकदाका अस्पतालमा बाहेक यस किसिमकाे अवधारणा अभ्यासमा छैन । अमेरिकी संस्था निक साइमन इन्स्टिच्युटकाे सहयाेगमा भरतपुर अस्पतालमा न्युन जोखिम भएका गर्भवतीले प्राकृतिक रुपमा पारिवारीक वातावरणमा बसेर बच्चा जन्माउन पाउने गरी मिड वाईफसहितको वर्थिङ सेन्टर स्थापना गरिएको छ ।
निक साइमन इन्स्टिच्युटले भरतपुर अस्पतालमा दुईजना मिड वाईफ (दक्ष प्रसुतीकर्मी) सहितको वर्थिङ युनिट स्थापना गरेको हो । निक साइमनले आर्थिक, प्राविधिक र उपकरण सहयोग गरेको छ । बर्थिङ युनिटमा आगामी वर्ष तीन जना मिड वाईफ थप्ने योजना रहेको निक साइमनकी निर्देशक डा अर्चना अमात्यले जानकारी दिइन् । दक्ष प्रसुतीकर्मी बन्न ब्याचलरमा तीन वर्षे मिड वाईफ कोर्स पढ्नुपर्छ ।
सामान्यतया मिड वाईफको काम गर्भवती आमालाई प्राकृतिक रुपमा नै सुत्केरी बनाउनु हो । उनीहरुले गर्भवतीको हेरचाह गर्ने, रमाइलो वातावरणको सिर्जना गराउने, शारिरिक एवम् मानसिक रुपमा तन्दुरुस्त गराउने काम पनि गर्दछन् । ‘मिड वाईफले गर्भवती आमाको श्रीमान् वा इच्छाइएको व्यक्तिलाई सँगै राखेर पारिवारिक वातावरणमा प्राकृतिक रुपमा नै बच्चा जन्माउन सहयोग गर्छन्,’ उनले भनिन्, ‘बाध्यता जस्तो नभएर आमा बन्ने प्रक्रियालाई मज्जा लिएर बच्चा जन्माउनुपर्छ भन्ने अहिलेको विश्वव्यापिकरण धारणा हो ।’
झण्डै एक करोड रुपैयाँमा निर्माण गरिएको वर्थिङ युनिटमा पाँच कोठा छन् । काठमाडौँको वीर अस्पताल, काभ्रेको धुलिखेल अस्पताल र पाटन अस्पतालमा वर्थिङ युनिटको धारणा सुरु भएको छ । उपत्यका बाहिरको ठूलो सरकारी अस्पतालमा भने भरतपुरमा पहिलो प्रयास भएकोे अमात्यले जानकारी दिइन् ।
‘भरतपुर अस्पतालमा निर्माण गरिएको वर्थिङ युनिटमा प्रत्येक महिलालाई एक/एक वटा कोठा दिइन्छ । जहाँ वर्थिङ बल राखिएको हुन्छ । उहाँहरुले गित सुन्न, हिँड्न र आफ्ना आफन्तलाई सँगै राख्न पाउनुहुन्छ । त्यसले गर्दा प्रसुती पीडालाई कम गरेर प्राकृतिक रुपमा सुत्केरी गराउन सजिलो हुन्छ ।’ उनले भनिन् ।
पछिल्लो समय अपरेशन गरेर बच्चा जन्माउने आमाहरुको संख्या बढ्दो छ । जसका कारण नर्मल डेलिभरीको तुलनामा मातृ तथा शिशु मृत्युदर बढ्ने खतरा बढि हुने भरतपुर अस्पतालका प्रसुती विभाग प्रमुख डा सुनिलमणी पोखरेल बताउँछन् । नेपालमा प्रत्येक एक लाख डेलिभरीमा १५१ जना आमाको मृत्यु हुने गरेको छ । प्रसुतिका लागि अस्पताल आएका तर कुनै खालको स्वास्थ्य जटिलता नभएका गर्भवती महिलालाई वर्थिङ युनिटमा राखिने पोखरेलले बताए ।
सुगर भएको, बच्चा उल्टो भएको, पहिला शल्यक्रिया गरेको र टेस्ट ट्युब गरेका गर्भवतीलाई जटिल किसिमका गर्भवती मानिन्छ । अस्पतालमा आएका गर्भवती महिलाहरु मध्ये ६० प्रतिशत नर्मल र ४० प्रतिशत जटिल प्रकृतिका आउने उनले बताए ।
भरतपुर अस्पतालमा सुत्केरी गराउन आउने महिलाको संख्या घट्दै गइरहेको छ । छिमेकी जिल्लाहरुमा सामान्य डेलिभरी सोही ठाउँको अस्पतालमा गराउने भएकाले पनि केहि संख्या घटेको उनको भनाई छ । ‘बाहिरी जिल्लाबाट जटिल प्रकृतिका गर्भवती महिलामात्र रिफर भएर आउँछन्’, उनले भने, ‘अस्पतालमा ५० प्रतिशत केश रिफरल हुन्छन् ।’
उच्च जोखिमका केश बढ्दो
भरतपुर अस्पतालमा उच्च जोखिम भएका डेलिभरी केश बढ्दो छ । पछिल्लो चार आर्थिक वर्षमा भरतपुर अस्पतालबाट प्रसुती सेवा लिने सुत्केरीको संख्या हेर्दा उच्च जोखिमका केश बढेको पाइएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिकमा भरतपुर अस्पतालबाट तीन हजार ७९८ जनाले प्रसुती सेवा लिएका छन् । त्यसमध्ये दुई हजार २६ जनाको नर्मल, एक हजार ६७६ जनाको शल्यक्रिया र ९६ जनाको भ्याकुम प्रयोग गरेर प्रसुती गराइएको हो ।
गत आव २०७९/८० मा ११ हजार ८९४ जनाले प्रसुती सेवा लिएका थिए । जसमध्ये छ हजार ८०२ जनाको नर्मल प्रसुती भएको थियो भने चार हजार ८११ जनाको शल्यक्रिया गरेर र २८१ जनालाई भ्याकुम प्रयोग गरेर प्रसुती गराइएको थियो । गत आवमा एक जना गर्भवती, चार जना सुत्केरी, १६ वटा नवजात शिशु र ८८ वटा शिशुको गर्भमै रहेका बेला मृत्यु भएको थियो ।
त्यसअघि आव २०७८/७९ मा १२ हजार २२१ जना प्रसुती भएकामा सात हजार ७३८ केश नर्मल, चार हजार २०८ केश शल्यक्रिया गरिएका र २७५ केश भ्याकुम प्रयोग गरिएको थियो । आव २०७७/७८ मा नौ हजार ९७० जना प्रसुती भएकामा छ हजार ३५५ केश नर्मल, तीन हजार ३९९ केश शल्यक्रिया गरिएका र २१६ केश भ्याकुम प्रयोग गरेर बच्चा जन्माइएको केश थिए ।













