विराटनगर । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले एमालेलाई ढुंगा हानेर पहिचान स्थापित नहुने बताएका छन्।
एमालेको कोशी प्रदेशमा हुने संकल्प यात्राबारे जानकारी दिन विराटनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा महासेठले एमालेलाई ढुंगा हानेर पहिचान स्थापित नहुने बताएका हुन्।
एमालेको झलालघाट–चिवा भन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कोशी प्रदेश प्रवेश गर्ने दिन पहिचान पक्षधरले बन्दको आह्वान गरेको भन्दै महासेठले एमालेलाई अवरोध गरेर नभई सहकार्य गरेर आफ्ना मुद्दा स्थापित गर्न पहिचान पक्षधरलाई सुझाव दिए।
महासेठले एमालेलाई ‘बाइकट’ गरेर पहिचान स्थापित हुन्छ भन्ने मान्यता राखिएको भए त्यो सम्भव नभएको पनि स्पष्ट पारे।
‘एमालेलाई अवरोध गरेर, एमालेका कार्यकर्तालाई ढुंगा हानेर पहिचान स्थापित हुँदैन’ उनले भने ‘छलफल, सहमति र सहकार्य गरेर आफ्ना मुद्दालाई स्थापित गर्न पहिचान पक्षधरलाई आग्रह छ।’











