भरतपुर । भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ता सकारात्मक देखिएका छन् । भरतपुर–२२ को सोल्टी वेस्टर्न होटलमा भएको लाईभ तथा अनलाईन अन्तरक्रिया कार्यक्रममा भरतपुरको विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका हुन् ।
चेम्बर अफ कर्मस छ्यान्जाओ सिआनको आयोजनामा भएको कार्यक्रममा स्थानीय उद्यमीको सहभागितामा १ सय ३० जना विदेश लगानीकर्ता सो कार्यक्रममा भाग लिएका थिए । भरतपुरको पर्यटकीय क्षेत्रका सम्भावनालाई चिनियाँ बजारसम्म पुराउन पटिहानी क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको चेम्बर अफ कर्मस छ्यान्जाओका कार्यकारी अध्यक्ष चोङ्ग कोए पिनले जानकारी दिए ।
अध्यक्ष पिनले भरतपुरमा धेरै क्षेत्रमा लगानी गर्न सकिने भएपनि पहिलो चरणमा भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गरेर पर्यटन प्रर्वद्धनमा लागेको उल्लेख गरे । भ्रमण वर्ष सफल बनाउन भरतपुरका पर्यटकीय क्षेत्रको बारेमा रिर्पोट बनाएर सिआन छ्यान्जाओ सरकारसँग पटक पटक छलफल भएको सो अवसरमा जानकारी दिए ।
भ्रमण वर्षको प्रचार–प्रसार गर्न नेपाली संस्कृति झल्कने गरी सिआन सहरमा संग्रालय निर्माणको काम अगाडि बढाइएको पनि अध्यक्ष पिनले बताए । भरतपुरमा तत्काल नै फुड एण्ड बेबरेज, पाईप फ्याक्ट्री, कृषि तथा शिक्षा क्षेत्रमा लगानी गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको उनले बताए ।











