–कुलप्रसाद काफ्ले
भरतपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले चुक अमिलो उत्पादन गर्ने तीन वटा उद्योग विरुद्ध चितवन जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । चुक अमिलोका नाममा अखाद्य वस्तु उत्पादन तथा विक्री वितरण गर्ने उद्योगहरु विरुद्ध मंसिर १३ गते मुद्धा दायर भएको हो । स्वास्थ्यमा गम्भिर असर पुग्ने खाद्य सम्बन्धि मुद्धा अदालतमा दर्ता हुने गर्छ । सामान्य मुद्धालाई भने प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ ।
खाद्य प्रविधिले खैरहनी नगरपालिका–४ स्थित अनिल खनालले सञ्चालन गरेको लक्ष्मी अचार तथा अमिलो उद्योग, खैरहनी–१ स्थित यादव थपलियाले सञ्चालन गरेको पहाडी चुक अमिलो उद्योग र रत्ननगर नगरपालिका–३ स्थित तोपबहादुर आचार्यले सञ्चालन गरेको आचार्य फुड उद्योग विरुद्ध मुद्धा दर्ता गरेको हो । यी उद्योगले चुक अमिलोका नाममा साइट्रिक एसिड, स्टार्स (पिठोजन्य पदार्थ) र क्यारामेल रङ मिसाएर विक्री गरेको पाइएको छ ।
लक्ष्मी अचारले कागती र निबुवाबाट बनेको अमिलो भनि उपभोक्तालाई झुक्याएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीले बताए । त्यस्तै, आचार्य फुड र पहाडी चुकले अमिलो भनि कमसल खाद्य पदार्थ उत्पादन तथा विक्री गरेको उनले जानकारी दिए ।
‘चुक अमिलोका उद्योगमा अनुगमन गरी नमुना लिएर परीक्षणका लागि ल्याबमा पठाएका थियौँ । चुक अमिलो भनिएको पदार्थमा साइट्रिक एसिड, स्टार्स र क्यारामेल रङ मात्रै भएको पुष्टि भएकाले तीन उद्योगविरुद्ध मुद्धा दर्ता गरिएको हो’, उनले भने, ‘नपकाइकन खाने खाद्य पदार्थमा क्यारामेल रङ तोकिएको मात्रामा मात्रै मिसाउन पाइन्छ तर, उद्योगहरुले स्टार्ससँग मिसाएर पकाएको पाइयो ।’
उद्योगहरुले खाद्य ऐन, २०२३ को दफा ४ विपरितको कसुर गरेकाले सोहि ऐनको दफा ५(१) बमोजिम अधिकतम सजायको माग दाबीसहित मुद्धा दर्ता गरिएको अधिकारीले बताए । उक्त दफा अनुसार प्रतिवादीलाई पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ । खाद्य प्रविधिले बजार अनुगमनका क्रममा भेटिएका चुक अमिलोहरु बरामद गरी नष्ट गर्दै आएको छ । बजारमा भेटिने चुक अमिलोहर कुनै पनि खान योग्य नरहेको उनी बताउँछन् ।
‘हामीले देखेको र जानकारीमा आएको जति चुक अमिलोका उद्योगहरु बन्द गराएका छौँ । तर अझै पनि विभिन्न पहाडी जिल्लाबाट ल्याएको भनि लुकिछिपी रुपमा अमिलो विक्री हुने गरेको पाएका छौँ’, उनले भने, ‘अनुगमनका क्रममा देखेको जति बरामद गरी नष्ट पनि गरेका छौँ । बाहिरी जिल्लाबाट ग्यालिनमा बोकेर ल्याइने र उद्योगले नै उत्पादन गरेका अमिलो भने अझै पनि पूर्ण रुपमा नियन्त्रण गर्न सकिएको छैन ।’
यस्तो किसिमको अमिलो खाँदा खाने व्यक्तिलाई एलर्जी हुने, अपच हुने र वान्ता हुने जस्ता लक्षण देखिने उनी बताउँछन् । नियमित रुपमा प्रयोग गर्दा भने क्यान्सर जस्ता घातक रोग लाग्ने उनको भनाइ छ ।
अखाद्य चुक अमिलो नियन्त्रणका लागि सरकारले सबै जिल्लामा निर्देशन दिनुपर्ने उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यष विष्णु भुसाल बताउँछन् । ‘एउटा जिल्लामा मात्रै रोकेर सम्भव छैन । बाहिरी जिल्लाबाट लुकिछिपी आइहाल्छ । सरकारले नै सबै जिल्लाका खाद्य कार्यालयमार्फत यस्ता अमिलोको उत्पादन तथा विक्री वितरण रोक्नुपर्छ’, उनले भने ।
चुक अमिलो भनि बोतलमा प्याकिङ गरी विक्री गरिने साइट्रिक एसिड विशेषगरी चटपट र पानीपुरीमा प्रयोग हुन गरेको छ । जति अनुगमन भएपनि अधिकांश चटपट पसलले अझै पनि अखाद्य अमिलो प्रयोग गर्दै आएका छन् । लुकिछिपी रुपमा चुक अमिलो उत्पादन तथा विक्री वितरण हुँदै आएको छ ।










