-सुनिता सुवेदी
चितवन । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म उक्त अभियान चल्ने गर्दछ । अभियानको अवसरमा माईती नेपाल चितवन, हाम्राे भराेसा नेपाल र चितवन सक्रिय महिला प्रतिष्ठानकाे संयुक्त आयोजना तथा समन्वयमा बुधवार ‘मानव बेचबिखन तथा लैङ्गिक हिंसा नियन्त्रणमा पत्रकारहरुको भूमिका’ विषयक गोष्ठी आयोजना गरिएकाे थियो ।
मानव बेचबिखन तथा लैङ्गिक हिंसा नियन्त्रणका लागि स्थानीय सरकार बढी जवाफदेही बन्नुपर्ने महिला पत्रकारहरुले बताए । हिंसाका घटनामा आरोपीत बचाउन राजनीतिक दलहरुबाटै ढाकछोप भइरहेको उनीहरु बताउँछन् । महिला पत्रकारहरुले समाचार लेखन शैली परिवर्तन गर्ने बेला आएको भन्दै उनीहरुले समाचार लेखेर नै सरकारलाई जवाफदेही बनाउनुपर्ने बताए ।
माइती नेपालको चितवन शाखा प्रमुख ईश्वर गिरीले लैंगिक हिंसा नियन्त्रण गर्ने खालका समाचार पर्याप्त नआएको बताए । ‘तपाई हामी समाजलाई ब्युँझाउन हिँडेको मानिस हौँ, आफै निदायौँ भने समस्या हुन्छ’, उनले भने, ‘पत्रकारले एक्लैपनि ठूलो काम गर्न सकिन्छ, लैङ्गिक हिंसाका घटनालाई प्रतिनिधि पात्रको रुपमा प्रस्तुत गर्न अनुरोध छ ।’
घरमा बुबाआमा बीचको दिनहुँको झगदा देख्दा बरु होटलमा काम गरे खान पाइन्छ भन्ने सोँचले बालबालिका सडकमा निस्किरहेका उनी बताउँछन् । सडकपेटी लगायत सार्वजनिक स्थानमा बालबालिकालाई पैसा माग्न पठाउने काम पनि बेचविखनकै स्वरुप भएको उनले बताए । माइती नेपालले २०२३ जनवरी देखि हालसम्म मानव बेचबिखनमा परेका सात जनालाई उद्धार गरेको छ ।
यस अवधिमा बेचविखनका लागि भारत लैजाँदै गर्दा २१३ जनालाई सिधै सिमानाबाट घर फर्काइएको उनले बताए । चालु आवको साउन यता मात्रै ४७ भन्दा बढीलाई सिमाबाट फर्काइएको उनी बताउँछन् । चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्म जिल्ला प्रहरी कार्यालय चितवनमा भने मानव बेचबिखनका कुनैपनि मुद्धा दर्ता भएका छैनन् ।
जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख एवम् प्रहरी निरीक्षक सरिता विश्वकर्माका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मानवबेचबिखनका सात वटा मुद्धा दर्ता भएका थिए । सात मध्ये चार मुद्धा होटल व्यवसायीसँग सम्बन्धित थिए ।
आर्थिक वर्ष २०७८/७९ मा चार र आर्थिक वर्ष २०७७/७८ मा तीन वटा मानव बेचविखनका मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको उनले बताइन् । ‘मुद्धा दर्ता नहुनुको पछाडिको कारण मानवबेचबिखन भएको छैन भन्ने हैन,’ उनले भनिन्, मानवबेचबिखन सम्बन्धी जाहेरी दिन नआएको अवस्था भएर दर्ता नभएको हो ।’
मानव बेचविखनका अधिकांश घटनाहरुमा पीडित भनिएकाले नै जाहेरी नदिने वा जाहेरी दिएपछि पछि होस्टाइल हुने गरेको उनले जानकारी दिइन् । २४ घण्टासम्म पनि जाहेरी नदिएको अवस्थामा पक्राउ पूर्जी जारी हुँदैन । त्यो भन्दा बढि समय थुन्दा मानव अधिकार आयोगले नै प्रश्न उठाउने उनी बताउँछिन् । ‘नाबालिकाको हकमा होस्टाइल हुने सम्भावना बढि हुन्छ,’ उनले भनिन्, ‘हामीले मुद्धा चलाउन नचाहेर रोकिने होइन् ।’
भरतपुरदेखि सौराहासम्म ११ भन्दा बढी मनोरञ्जन क्षेत्र (दोहोरी साँझ) सामरी सेवा उत्थानको तत्थ्यांक छ । उक्त क्षेत्रका काम गर्ने १५० जना श्रमिक मध्ये ५० प्रतिशत भन्दा बढि महिला रहेको सामरी सेवा उत्थानका सञ्चालक बाबुराम बिकले बताए । बिकका अनुसार होटल सञ्चालकले ग्राहकहरुसँग मिलेर श्रमिकलाई बाध्य पारेर यौन कर्ममा लगाउन पहल गर्दछन् ।
श्रमिकहरुले दुव्र्यवहार भएको भन्ने समेत थाहा नपाएको विक बताउँछन् । ‘श्रमिकहरु कुलतमा फसेका छन् । यति अभ्यस्त भइसके कि आफूमाथी दूव्र्यवहार भएको समेत महसुस गर्दैनन्’, उनले भने ।
बाध्यताले गर्दा काम छाड्न नसक्ने, उजुरी दिन पनि नसक्ने र कुनै मुद्धा परेमा होस्टाइल भइहाल्ने उनले बताए । श्रमिकहरुलाई सामान्य जीवनयापन गर्नपनि गाह्रो हुने गरेको उनी बताउँछन् ।
नेपाल पत्रकार महासंघकी केन्द्रिय सचिव सिर्जना अर्यालले लैङ्गिकताका विषयमा महिला पुरुष एकजुट भएर अगाडी बढ्नुपर्ने बताइन् । चितवनमा मात्रै मानव वेचबिखन नियन्त्रण सम्बन्धि काम गर्ने सातवटा संस्था रहेका छन् । सक्रिय महिला प्रतिष्ठानको परियोजना संयोजक सुजाता बर्तौलाले महिला हिंसा र मानव बेचबिखनका घटनामा स्थानीय तहलाई जवाफदेही बनाउनु पर्ने समय आएको बताइन् ।