नवलपुर । साढे ३ वर्षमा काम सक्ने र ५ वर्षसम्म निर्माण कम्पनी आफैले मर्मत गर्नेगरी २०७५ साल चैतमा नारायणगढ–बुटवल सडकको शिलान्यास गरिएको थियो । तर ४ वर्ष आठ महिनाको अवधिमा आधा पनि काम सम्पन्न भएको छैन ।
चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरेको थियो । गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२५ किलोमिटर सडकको पूर्वी भागलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५३५ किलोमिटरको पश्चिम भागलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ ।
हालसम्म खण्ड ‘क’ मा भौतिक प्रगति ४२.०५ प्रतिशत (एकतर्फी १६.६ किलोमिटर कालोपत्रे) र पश्चिम खण्डमा ३८.५ प्रतिशत (एकतर्फी १९.५ किलोमिटर कालोपत्रे) प्रगति भएको आयोजनाले जनाएको छ । खण्ड ‘क’ मा मङ्सिर महिनाभरिमा १० किलोमिटर बाटो कालोपत्रे गर्ने योजना रहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए ।
बाटो विस्तारको कामले सोचेअनुसार गति लिन नसकेपछि दुई पटकसम्म म्याद थपिएको छ । पहिलो पटक एक वर्ष म्याद थपिँदा पनि काम सम्पन्न हुन सकेन । पछिल्लो पटक भदौ ११ गतेदेखि लागू हुनेगरी ३३० दिनको म्याद थप भएको छ । जुन म्याद २०८१ को साउनमा सकिन्छ ।
कामको प्रगति हेर्दा थपिएको अवधिमा पनि सडक निर्माणको काम नसकिने भएको छ । अनि निर्माण कम्पनी र सडक आयोजनाबिच थपिएको म्याद कहिलेसम्म हो र कहिलेसम्म काम सक्ने भन्नेमा पनि एकमत छैन ।
निर्माण कम्पनीले सरकारले दिएको समयमा काम नसक्ने स्पष्ट बताइसकेको छ र थपिने समयलाई समेत आधार मानेर भावी कार्ययोजना तयार गरेको छ । ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले सन् २०२५ को मार्च महिनासम्म ९५ प्रतिशत काम सक्नेगरी कार्ययोजना बनाएको हो ।











